रिलायबल नेपाल लाइफद्वारा बीमितको परिवारलाई साढे १३ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आईबीआरडी शाखाले बेलौरी नगरपालिका–३ खिरियामा स्वर्गीय सीता देवी रानाको म्यादी जीवन बीमा अन्तर्गतको १३ लाख ८५ हजार रुपैयाँ बीमा दाबी रकम उनका श्रीमानलाई हस्तान्तरण गरेको छ।
दाबी रकम हस्तान्तरण कार्यक्रममा बेलौरी नगरपालिका–३ का वडा अध्यक्ष, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख, आईबीआरडी शाखा प्रमुख, सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड बेलौरी शाखाका प्रतिनिधि तथा स्थानीयहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै आईबीआरडी शाखा प्रमुखले जीवन बीमाको आवश्यकता, महत्व तथा विपद् वा संकटको समयमा परिवारलाई प्रदान गर्ने आर्थिक सुरक्षा र विभिन्न सुविधाबारे जानकारी दिए। उनले लघुवित्त र जीवन बीमाबीचको सहकार्यले ऋण मिनाहा, आर्थिक राहत तथा पीडित परिवारलाई कठिन परिस्थितिमा सहयोग पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
बीमा दाबी रकम हस्तान्तरण गर्दै वक्ताहरूले जीवनमा आइपर्न सक्ने अनिश्चित परिस्थितिको सामना गर्न जीवन बीमा प्रभावकारी माध्यम भएको उल्लेख गरे। उनीहरूले समयमै जीवन बीमा गरेर आफ्नो परिवारको भविष्य सुरक्षित बनाउन सबैलाई आग्रह गरे।
कार्यक्रमको अन्त्यमा “बीमा खर्च होइन, भविष्यको आर्थिक सुरक्षा हो। आजको सही निर्णयले भोलिको संकटलाई सहज बनाउन सक्छ।“ भन्ने सन्देश दिँदै जीवन बीमाप्रति जनचेतना अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।











