वीर अस्पतालको अपडेट: गणेश नेपालीको अवस्था अझै गम्भीर, २१ सदस्यीय टोली उपचारमा

काठमाडौं । आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था अझै पनि गम्भीर रहेको वीर अस्पतालले जनाएको छ।
शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा अस्पतालले नेपालीको अवस्था अझै केही भन्न सकिने अवस्थामा नरहेको र जुनसुकै बेला स्वास्थ्यमा थप जटिलता आउन सक्ने जनाएको हो।
उपचारमा संलग्न चिकित्सकका अनुसार अनुहारमा आगो लागेर श्वासप्रश्वास प्रणालीमा असर पुगेकाले उनको उपचार निकै चुनौतीपूर्ण बनेको छ। यद्यपि, उपलब्ध सबै स्रोतसाधन प्रयोग गर्दै उपचारलाई निरन्तरता दिइएको अस्पतालले जनाएको छ।
हाल वीर अस्पतालको बर्न आइसियुमा भेन्टिलेटरको सहायतामा उपचाररत नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ।
उनको उपचार प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट डा. जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष टोलीले गरिरहेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार थप उपचारका लागि उनलाई भारतको नयाँ दिल्ली लैजाने तयारी गरिएको थियो। तर स्वास्थ्य अवस्था स्थिर नभएकाले हाल तत्काल स्थानान्तरण गर्न सम्भव नभएको बताइएको छ।











