एनएमबी बैंकको ‘ए माइनस’ रेटिङ यथावत्, वित्तीय दायित्व पूरा गर्ने क्षमता पर्याप्त

२६ असार २०८३, शुक्रबार १२:३५

काठमाडौं । इक्रा नेपालले एनएमबी बैंक लिमिटेडको जारीकर्ता (इस्युअर) रेटिङलाई पुनः पुष्टि गर्दै ‘नकारात्मक प्रभावसहितको निगरानी सूची’ यथावत् राखेको छ।बैंकको जारीकर्ता रेटिङ ‘इक्राएनपी–आईआर ए माइनस’ लाई पुनः पुष्टि गरेको हो।

यससँगै उक्त रेटिङमा ‘नकारात्मक प्रभावसहितको निगरानी सूची’ पनि निरन्तर कायम राखिएको छ। यस्तो रेटिङ प्राप्त संस्थालाई आफ्ना वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता भएको मानिन्छ। यस्ता संस्थामा कर्जा जोखिम कम रहने आईसीआरए नेपालको धारणा छ। यो रेटिङ कुनै विशेष ऋण उपकरणका लागि नभई संस्थाको समग्र कर्जा वहन क्षमतामाथिको मूल्याङ्कन मात्र भएको पनि उल्लेख गरिएको छ। साथै, रेटिङ संकेतमा प्रयोग हुने ‘प्लस’ वा ‘माइनस’ चिन्हले सम्बन्धित रेटिङ वर्गभित्रको सापेक्षिक अवस्थालाई जनाउने जनाइएको छ।

त्यसैगरी, बैंकले जारी गरेको १ अर्ब ६८ करोड ४५ लाख ५ हजार रुपैयाँ बराबरको अधीनस्थ ऋणपत्र (सबोर्डिनेटेड डिबेन्चर) को रेटिङ पनि ‘इक्राएनपी एलए माइनस’ मा पुनः पुष्टि गरिएको छ। यस रेटिङमा पनि ‘नकारात्मक प्रभावसहितको निगरानी सूची’ यथावत् राखिएको छ।

बैंकको कर्जा पोर्टफोलियो पनि समान स्तरका अन्य बैंकको तुलनामा बढी विविध रहेको उल्लेख गरिएको छ। सन् २०२६ को जनवरी मध्यसम्म बैंकका सबैभन्दा ठूला २० ऋणी समूहको हिस्सा कुल कर्जा पोर्टफोलियोको करिब १७ प्रतिशत र प्राथमिक पुँजीको करिब १६० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो अनुपात क्रमशः करिब १८ प्रतिशत र १५६ प्रतिशत थियो।

बैंकले आफ्नो वित्तीय यात्रा सन् १९९६ डिसेम्बर २६ मा ‘ग’ वर्गको वित्त कम्पनीका रूपमा सुरु गरेको थियो। त्यसपछि सन् २००८ मे महिनामा ‘ग’ वर्गबाट ‘क’ वर्गमा स्तरोन्नति भएपछि बैंक वाणिज्य बैंकका रूपमा सञ्चालनमा आएको हो। बैंकमा विदेशी रणनीतिक लगानीकर्ताको पनि सहभागिता रहेको छ। नेदरल्यान्ड्सको विकास वित्त संस्था एफएमओ को करिब १४ प्रतिशत सेयर स्वामित्व रहेको छ भने मलेसियाको यङ लियोन रियल्टी को करिब ४ प्रतिशत सेयर स्वामित्व रहेको छ।

सन् २०२६ जनवरी मध्यसम्म बैंकको संस्थापक र सर्वसाधारणतर्फको सेयर स्वामित्व अनुपात करिब ५१ः४९ रहेको छ। बैंकका प्रमुख संस्थापक सेयरधनीमा नेदरल्यान्ड्सको एफएमओ, कर्मचारी सञ्चय कोष, मलेसियाको यङ लियोन रियल्टी तथा नेपालका विभिन्न व्यावसायिक घरानासँग आबद्ध व्यक्तिगत लगानीकर्ता रहेका छन्। बैंकको केन्द्रीय कार्यालय काठमाडौंको बबरमहल मा रहेको छ।

त्यसैगरी, सन् २०२६ जनवरी मध्यसम्म वाणिज्य बैंकहरूको कुल निक्षेपमध्ये एनएमबी बैंकको हिस्सा करिब ४.२ प्रतिशत रहेको छ भने कुल कर्जा प्रवाहमा बैंकको हिस्सा करिब ४.९ प्रतिशत पुगेको छ। समग्र बैंकिङ उद्योगको आधारमा भने निक्षेपतर्फ यसको हिस्सा करिब ३.८ प्रतिशत र कर्जातर्फ करिब ४.४ प्रतिशत रहेको उल्लेख गरिएको छ।

सोही अवधिसम्म बैंकले देशभर २०२ वटा शाखा र ९ वटा विस्तारित सेवा काउन्टर मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*