‘जरिवाना र विभेदले श्रमिकलाई चरम कदम चाल्न बाध्य बनायो’ : राईडर्स युनियन

२६ असार २०८३, शुक्रबार १४:११

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा राईड सेयरिङ श्रमिक गणेश नेपालीले गरेको आत्मदाहको प्रयासप्रति राईडर्स युनियन नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

युनियनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी प्रशासनको ज्यादती र कार्यस्थलमा हुने विभेदका कारण एक श्रमिक यस्तो चरम कदम चाल्न बाध्य भएको भन्दै घटनाप्रति दुःख व्यक्त गरेको हो।

युनियनका अनुसार नेपालमा प्ल्याटफर्ममा आधारित राईड सेयरिङ सेवा सुरु भएदेखि नै श्रमिकहरूले निःशुल्क पार्किङ, पिउने पानी, शौचालय तथा विश्रामस्थलजस्ता आधारभूत सुविधा उपलब्ध गराउन माग गर्दै आएका छन्। तर महानगरपालिका र प्रहरीले ट्राफिक व्यवस्थापनका नाममा जरिवानालाई मात्र प्राथमिकता दिँदा न्यून आम्दानी भएका श्रमिकहरू निरन्तर आर्थिक तथा मानसिक दबाबमा परेको विज्ञप्तिमा उल्लेख छ।

प्रहरीबाट हुने दुर्व्यवहार र विभेदपूर्ण व्यवहारका कारण राईड सेयरिङ श्रमिकहरूले आफूलाई असुरक्षित महसुस गरिरहेको पनि युनियनले जनाएको छ।

उपचाररत गणेश नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै युनियनले उनको उपचारको सम्पूर्ण व्यवस्था गर्न र उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकार तथा सम्बन्धित रोजगारदाता कम्पनीसँग माग गरेको छ।

युनियनले यस घटनाबाट आवश्यक पाठ सिक्दै प्ल्याटफर्ममा आधारित श्रमिकहरूको कार्यस्थललाई सुरक्षित, मर्यादित र श्रममैत्री बनाउन सरकारसँग आग्रह गरेको छ। साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको सम्मान गर्दै तिनको प्रभावकारी कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।

युनियनका केन्द्रीय अध्यक्ष माधव पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा श्रमिकहरूलाई आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउनुको सट्टा जरिवाना र दबाबमा केन्द्रित नीति अपनाइँदा यस्ता दुःखद घटना निम्तिएको निष्कर्ष निकालिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*