करको डरले शेयर बिक्री तिर लगानीकर्ताः राताम्यले थप्यो चिन्ता, अर्थमन्त्री–गभर्नरलाई पत्याएनन्!

२६ असार २०८३, शुक्रबार १५:०४

काठमाडौँ । साउनदेखि लागू हुने नयाँ कर व्यवस्थाको प्रभाव, अपेक्षाअनुसार नआएको मौद्रिक नीति, नियामक निकायहरूको बढ्दो सक्रियता र असार मसान्तको नगद चापका कारण नेपाली शेयर बजारमा बिक्रीको दबाब तीव्र बन्दै गएको छ । लगानीकर्ताहरू सम्भावित अतिरिक्त कर भारबाट जोगिन असारभित्रै शेयर बिक्री गर्ने रणनीतिमा देखिएका छन् । बजार निरन्तर ओरालो लागिरहेका बेला नयाँ करसमेत थपिएपछि थप घाटा बेहोर्नुपर्ने चिन्ताले धेरै लगानीकर्ता ‘वेट एन्ड वाच’को अवस्थाभन्दा बिक्रीतर्फ केन्द्रित भएका हुन् । परिणामस्वरूप पछिल्ला कारोबारमा खरिदकर्ताभन्दा बिक्रीकर्ता हाबी हुँदा नेप्से परिसूचक निरन्तर दबाबमा परेको छ ।

फागुन २१ पछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार गठन हुँदा राजनीतिक स्थायित्वसँगै आर्थिक सुधारले गति लिने अपेक्षा व्यापक थियो। निजी क्षेत्र तथा पूँजीबजारले लगानीमैत्री नीति, वित्तीय क्षेत्र सुधार र बजारलाई चलायमान बनाउने निर्णय आउने विश्वास गरेका थिए। त्यसपछि आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटप्रति पनि ठूलो अपेक्षा गरिएको थियो। तर बजेटले पूँजीबजारलाई प्रत्यक्ष राहत दिने वा लगानी विस्तार गर्ने कुनै प्रभावकारी कार्यक्रम ल्याउन नसकेको विश्लेषण गरिएको छ। उल्टै करको दायरा विस्तार भएपछि बजारमा निराशा थपिएको देखिन्छ। लगानीकर्ताको अर्को भरोसा बनेको मौद्रिक नीतिले पनि पूँजीबजारसँग सम्बन्धित अपेक्षित व्यवस्था समेट्न नसकेपछि नीति सार्वजनिक भएलगत्तै लगातार तीन कारोबार दिन बजारमा तीव्र गिरावट देखिएको थियो।

लगानीकर्ताले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनीलाई दोस्रो बजारमा प्रवेशको बाटो खुलाउने, संस्थागत लगानीकर्ताको सहभागिता बढाउने, बैंकहरूको शेयर लगानी सीमा पुनरावलोकन गर्ने तथा बीमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता ठूला संस्थागत लगानीकर्तालाई बजारमा थप सक्रिय बनाउने व्यवस्था आउने अपेक्षा गरेका थिए। लघुवित्त संस्थाको लाभांश वितरण नीतिमा पनि वित्तीय अवस्थाअनुसार लचकता अपनाइने विश्वास थियो। तर राष्ट्र बैंकले बैंकिङ प्रणाली सुधार, कर्जा विस्तार, तरलता व्यवस्थापन र उत्पादनशील क्षेत्रमा लगानी प्रवाहलाई प्राथमिकता दिँदा पूँजीबजारसँग प्रत्यक्ष सम्बन्धित मागहरू सम्बोधन हुन सकेनन्। यसले बजारमा सकारात्मक सन्देश प्रवाह गर्न नसकेको विश्लेषकहरूको भनाइ छ।

यता, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धितोपत्र कारोबारसँग सम्बन्धित गतिविधिमाथि अनुसन्धान तीव्र बनाउनु पनि बजारमा मनोवैज्ञानिक दबाब बढाउने अर्को कारण बनेको छ। उच्च कारोबार गर्ने केही ब्रोकर कम्पनीमार्फत भएका ठूला कारोबारको प्रकृतिमाथि अध्ययन भइरहेकाले ठूला लगानीकर्ता तथा कारोबारी समूह सतर्क बनेका छन्। दीर्घकालीन रूपमा नियामकीय निगरानीले बजारलाई पारदर्शी र व्यवस्थित बनाउन सहयोग पु¥याउने अपेक्षा गरिए पनि तत्कालका लागि यसले नयाँ लगानीको उत्साह घटाएको र कारोबारमा संकुचन ल्याएको देखिन्छ। यससँगै असार मसान्तमा कर, ऋण तथा अन्य वित्तीय दायित्व भुक्तानीका लागि नगद व्यवस्थापन गर्नुपर्ने बाध्यताले पनि शेयर बिक्री बढेको विश्लेषण गरिएको छ।

विश्लेषकहरूका अनुसार अहिलेको बजार गिरावट कुनै एक कारणको परिणाम होइन बरु नयाँ करको तयारी, बजेट र मौद्रिक नीतिप्रतिको निराशा, नियामकीय सक्रियता तथा असार मसान्तको मौसमी नगद चापको संयुक्त प्रभाव हो । सरकार गठनपछि देखिएको राजनीतिक स्थायित्वको आशा आर्थिक नीतिमा रूपान्तरण हुन नसक्दा लगानीकर्ताको मनोबल क्रमशः कमजोर बन्दै गएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गभर्नर विश्व पौडेलप्रति बजारले राखेको अपेक्षा पनि अहिलेसम्म व्यवहारमा देखिन नसकेको टिप्पणी हुन थालेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.१३ अकंले घटेर २६००.७८ बिन्दुमा कायम भएको छ । आज ३६७ कम्पनीको १ करोड ६ लाख ६० हजार कित्ता शेयरकिनबेच हुँदा ६ अर्ब ८६ करोड ७ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ७ उपसूचक राताम्य भएको छ । आज वाणिज्य बैंक समूहको ०.१७ प्रतिशत, विकास बैंक समूहको ०.३९ प्रतिशत, फाइनान्स समूहको ०.२९ प्रतिशतले शेयर मूल्य घटेको छ ।

शुक्रबार १२० कम्पनीको शेयर मूल्य बढेको छ भने १३५ कम्पनीको घटेको छ । १९ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*