बालविकास शिक्षिकाको शैक्षिक प्रमाणपत्र नक्कली, अख्तियारले चलायो भ्रष्टाचार मुद्दा

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास शिक्षक पदमा नियुक्ति लिएको आरोपमा कैलालीकी एक शिक्षिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार कैलालीको जानकी गाउँपालिका–३, नयाँ लायकपुरस्थित श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयमा कार्यरत बालविकास शिक्षिका नन्दा कुमारी शाहीले भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशबाट माध्यमिक तह उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेकी थिइन्।
उक्त नक्कली प्रमाणपत्रकै आधारमा उनले २०६६ मंसिर ३ गते सोही विद्यालयमा बालविकास शिक्षक पदमा नियुक्ति लिई सरकारी सेवामा प्रवेश गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानबाट उनले झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र प्रयोग गरी सरकारी ओहदा, तलब, भत्ता तथा अन्य सुविधा लिएको पुष्टि भएको आयोगले जनाएको छ।
सोही आधारमा अख्तियारले नन्दा कुमारी शाहीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अन्तर्गत भ्रष्टाचार मुद्दा दायर गर्दै कानुनबमोजिम कैद र जरिवानाको मागसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।











