पूर्वीचौकी गाउँपालिकाको मनपरी खर्च, कार्यक्षेत्र बाहिरको सहकारीलाई १ लाख निकासा गरेको खुलासा

काठमाडौँ । डोटी जिल्लामा रहेको पूर्वीचौकी गाउँपालिकाले कानुनको धज्जी उठाउँदै आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको संस्थाका लागि बजेट निकासा गरेको खुलासा भएको छ । आर्थिक वर्ष २०८१।८२ को लेखापरीक्षणका क्रममा महालेखा परीक्षकले पालिकाले आफ्नो कार्यक्षेत्रभन्दा बाहिरका कार्यालय तथा संघ–संस्थाका लागि बजेट विनियोजन गरी खर्च गरेको जनाएको हो ।
यस्तो खर्च मितव्ययी तथा बजेटको प्रभावकारिताको दृष्टिले उपयुक्त नदेखिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार पालिकाले खप्तड महिला बहुउद्देश्यीय सहकारीका लागि सामान खरिदमा ९९ हजार ५८१ रुपैयाँ खर्च गरेको छ। उक्त खर्चलाई महालेखाले अनियमित औंल्याएको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७३ अनुसार प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत बजेट खर्च गर्दा नियमितता, मितव्ययिता, प्रभावकारिता, कार्यदक्षता र औचित्यसमेतका आधारमा खर्च गर्नुपर्ने व्यवस्था छ। तर पूर्वीचौकी गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको संस्थाका लागि गरेको उक्त खर्चले सार्वजनिक बजेटको प्राथमिकता र खर्चको औचित्यमाथि प्रश्न खडा गरेको छ।

स्थानीय तहको सीमित बजेट नागरिकका आधारभूत आवश्यकता, पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने भए पनि कार्यक्षेत्रभन्दा बाहिरका संस्थाका लागि रकम खर्च गरिएको विषयलाई महालेखाले नै मितव्ययी र प्रभावकारी नभएको निष्कर्षमा राखेको छ।
पूर्वीचौकी गाउँपालिकाको नेतृत्व अध्यक्ष रामप्रसाद उपाध्याय र उपाध्यक्ष पशुपती खड्काले गरिरहेका छन्।
सम्बन्धीत समाचार:
पूर्वीचौकी गाउँपालिका: खाजा–गाडी भाडा र अतिथि सत्कारमा ७० लाख खर्च, सवारी मर्मत मै ४५ लाख स्वाहा











