मिथिला लघुवित्तको नाफामा २८ प्रतिशतको गिरावट, यस्तो छ चौथो त्रैमासको वित्तीय चित्र

२६ श्रावण २०८३, मंगलवार ०७:५१

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाको नाफासँगै प्रतिशेयर आम्दानीमा संकुचन आएको देखिएको हो ।

समीक्षा अवधिमा लघुवित्तले ५ करोड १३ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो आर्थिक वर्षको ७ करोड १६ लाख ५७ हजार रुपैयाँको तुलनामा २८.३३ प्रतिशतले कम हो । नाफामा आएको यो गिरावटसँगै संस्थाको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि प्रभाव परेको छ । अघिल्लो वर्ष ३२ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी गत वर्ष घटेर २०.०७ रुपैयाँमा सीमित हुन पुगेको छ ।

खुद नाफा घटे पनि संस्थाको व्यवसाय विस्तार र सञ्चालन आम्दानीमा भने सकारात्मक सुधार देखिएको छ । संस्थाको कुल सञ्चालन आम्दानी १९.१८ प्रतिशतले वृद्धि भई २९ करोड ५० लाख ६१ हजार रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष २४ करोड ७५ लाख ६९ हजार रुपैयाँ थियो । कम्पनीको वितरणयोग्य मुनाफा ३ करोड २७ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा खुद ब्याज आम्दानी पनि २० करोड ७३ लाख ६६ हजार रुपैयाँबाट बढेर २४ करोड ५६ लाख ४७ हजार रुपैयाँ पुगेको छ । त्यस्तै लघुवित्तले प्रवाह गरेको कर्जा तथा सापटी पनि अघिल्लो वर्षको तुलनामा ८.९२ प्रतिशतले बढेर ३ अर्ब १४ करोड ७ लाख रुपैयाँ पुगेको देखिन्छ । संस्थाको निक्षेप संकलन पनि १ अर्ब १८ करोड ८५ लाखबाट वृद्धि भई १ अर्ब ३० करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पूँजी १४.२५ प्रतिशतले बढेर २५ करोड ५८ लाख ४३ हजार रुपैयाँ पुगेको छ । जगेडा कोषमा २ करोड २९ लाख ८९ हजार रुपैयाँ सञ्चित छ । तर निष्क्रिय कर्जा (एनपीएल) अघिल्लो वर्ष ९.८० प्रतिशत रहेकोमा गत वर्ष सामान्य बढेर ९.८९ प्रतिशत पुगेको छ । यस्तै कोषको लागत (कस्ट अफ फण्ड) पनि ६.२४ प्रतिशतबाट बढेर ७.११ प्रतिशत पुगेको छ । हाल संस्थाको प्रतिशेयर नेटवर्थ १६७.९३ रुपैयाँ र तरलता अनुपात १२.९८ प्रतिशत कायम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*