रिलायबल नेपाल लाइफको नाफा ५८ करोडः जीवन बीमा कोषमा १७ अर्ब ९३ करोड, अधिकांश सूचकमा सुधार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८२।०८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो व्यवसाय र नाफामा उत्साहजनक प्रगति देखिएको जनाएको छ ।
समीक्षा अवधिमा कम्पनीले ५८ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा ५७ करोड १लाख रुपैयाँ रहेको थियो ।
नाफामा देखिएको यो सुधारसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि बढोत्तरी भई ११.२१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी १०.९७ रुपैयाँ मात्र थियो ।
कम्पनीको व्यवसाय विस्तारको मुख्य आधार मानिने खुद बीमा शुल्क आर्जनमा उल्लेख्य वृद्धि देखिएको छ । अघिल्लो वर्ष ५ अर्ब ३ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको कम्पनीले गत आर्थिक वर्षमा २५ प्रतिशतभन्दा बढीले वृद्धि गर्दै ६ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ पुर्याएको छ ।

यसैगरी लगानी, कर्जा तथा अन्य स्रोतहरूबाट हुने आय ३.१२ प्रतिशतले बढेर १ अर्ब ४७ करोड १७ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष १ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ थियो । कुल आम्दानीका हिसाबले हेर्दा कम्पनीले ७ अर्ब ८४ करोड ३३ लाख रुपैयाँ संकलन गरेको छ जुन अघिल्लो वर्षको ६ अर्ब २१ करोड ९८ लाख रुपैयाँको तुलनामा आकर्षक बढोत्तरी हो ।
अघिल्लो वर्ष १३ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ रहेको जीवन बीमा कोष उल्लेख्य मात्रामा बढेर १७ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ६२ पैसा रहेको छ । चुक्ता पूँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोष २८ करोड ७४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष ८१ करोड ३४ लाख रुपैयाँमा झरेको छ ।











