बैंकमा थुप्रिँदै ‘अनिच्छुक सम्पत्ति’, एक वर्षमै गैरबैंकिङ सम्पत्ति ५ अर्बले बढ्यो

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरू पछिल्लो समय घरजग्गा तथा भवनका ‘अनिच्छुक मालिक’ बन्ने क्रम बढेको छ । ऋणीबाट कर्जा असुल हुन नसकेपछि धितोका रूपमा राखिएका घर, जग्गा, भवन तथा अन्य सम्पत्ति बैंकहरूले आफ्नै स्वामित्वमा लिनुपर्ने अवस्था बढ्दै गएपछि बैंकहरूको गैरबैंकिङ सम्पत्तिको आकार पनि निरन्तर उकालो लागेको हो ।
वित्तीय विवरणमा गैरबैंकिङ सम्पत्तिको आकार बढ्दै जानुलाई सामान्य तथ्यांक वृद्धिका रूपमा मात्र हेर्न नसकिने देखिएको छ । यस्ता सम्पत्तिले बैंकको तरलता, नाफा तथा कर्जा विस्तार गर्ने क्षमतामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले बैंकिङ क्षेत्रका लागि यो चुनौतीका रूपमा देखिएको हो । उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने स्रोत निष्क्रिय सम्पत्तिको व्यवस्थापनमा प्रयोग गर्नुपर्ने अवस्था आउँदा बैंकिङ क्षेत्रको कार्यक्षमतामाथि समेत प्रश्न उठ्न थालेको छ । आर्थिक गतिविधि सुस्त बन्दै जाँदा यस्ता सम्पत्तिको व्यवस्थापन झन् कठिन बन्दै गएको देखिन्छ ।
पछिल्लो एक वर्षमा बैंकहरूको गैरबैंकिङ सम्पत्ति १२ दशमलव ४१ प्रतिशतले बढेर ४८ अर्ब ८ करोड ७ लाख रुपैयाँ पुगेको छ । २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति ४२ अर्ब ७७ करोड २७ लाख रुपैयाँ रहेकोमा एक वर्षमा ५ अर्ब ३० करोड ७९ लाख रुपैयाँले वृद्धि भएको हो ।
सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति हिमालयन बैंकको रहेको छ । २०८३ असारसम्म हिमालयन बैंकको गैरबैंकिङ सम्पत्ति ६ अर्ब ४८ करोड ९२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ५ अर्ब ६६ करोड ४७ लाख रुपैयाँ रहेकोमा यस वर्ष १४ दशमलव ५५ प्रतिशतले वृद्धि भएको हो ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको गैरबैंकिङ सम्पत्ति ५ अर्ब ८७ करोड ७९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ३ अर्ब ६८ करोड ४३ लाख रुपैयाँ रहेको यस्तो सम्पत्ति ५९ दशमलव ५४ प्रतिशतले बढेको हो । ग्लोबल आइएमई बैंकको गैरबैंकिङ सम्पत्ति भने घटेको छ । २०८२ असारमा ६ अर्ब ५ करोड ८० लाख रुपैयाँ रहेकोमा २०८३ असारमा ५ अर्ब ६९ करोड ६४ लाख रुपैयाँमा झरेको छ । यो ५ दशमलव ९७ प्रतिशतको कमी हो ।
प्राइम बैंकको गैरबैंकिङ सम्पत्ति ५ अर्ब ७ करोड ८६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ३ अर्ब ९४ करोड ३९ लाख रुपैयाँ रहेकोमा २८ दशमलव ७७ प्रतिशतले वृद्धि भएको हो । निक एशिया बैंकको यस्तो सम्पत्ति भने ११ दशमलव ११ प्रतिशतले घटेर ४ अर्ब १२ करोड ४२ लाख रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यो ४ अर्ब ६३ करोड ९८ लाख रुपैयाँ थियो ।

नबिल बैंकको गैरबैंकिङ सम्पत्ति ३ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ३ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ रहेकोमा ७ दशमलव ९७ प्रतिशतले घटेको हो । लक्ष्मी सनराइज बैंकको गैरबैंकिङ सम्पत्ति भने ९ दशमलव १० प्रतिशतले बढेर २ अर्ब ३९ करोड १४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो सम्पत्ति २ अर्ब १९ करोड २० लाख रुपैयाँ थियो ।
नेपाल बैंकको गैरबैंकिङ सम्पत्ति ३६ दशमलव ९५ प्रतिशतले बढेर ३६ करोड १९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २६ करोड ४२ लाख रुपैयाँ रहेको थियो । राष्ट्रिय वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति भने २ दशमलव ९७ प्रतिशतले घटेर ३१ करोड ४ लाख रुपैयाँमा आएको छ ।









