प्राकृतिक विपद् प्रभावित क्षेत्रमा बैंकिङ सेवा अविलम्ब सुचारु गर्न राष्ट्र बैंकको पहल

१४ भाद्र २०८३, आईतवार १६:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा बैंकिङ सेवा अविलम्ब सुचारु गर्न आवश्यक सहजीकरण गरिरहेको जनाएको छ।

केन्द्रीय बैंकले प्रभावित क्षेत्रमा बैंकिङ तथा भुक्तानी सेवाको निरन्तरता सुनिश्चित गर्न बैंक तथा वित्तीय संस्थालाई विद्युतीय माध्यमलगायत वैकल्पिक स्थानबाट सेवा सञ्चालन गर्न आवश्यक सहजीकरण गरिएको जनाएको हो।

प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक वित्तीय स्रोत परिचालन गर्नसमेत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहन गरेको छ। विपद्को विषम परिस्थितिमा ग्राहक, कर्मचारी तथा समुदायको सुरक्षा र हितलाई प्राथमिकतामा राखी प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील भएर आवश्यक सहयोगका लागि निरन्तर प्रयासरत रहन राष्ट्र बैंकले सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

यही भदौ १० गते रसुवालगायतका विभिन्न स्थानमा आएको प्राकृतिक विपद्बाट भएको ठूलो जनधनको क्षतिप्रति राष्ट्र बैंकले गहिरो दुःख व्यक्त गरेको छ। विपद्का कारण सम्पर्कविहीन रहेका सर्वसाधारण, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र उनीहरूका परिवारजनले व्यहोर्नुपरेको पीडाप्रति केन्द्रीय बैंकले गहिरो सहानुभूति प्रकट गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*