ब्युटिसियनबाट बीमा अभिकर्तासम्मः प्रतिमाको आठ वर्षे यात्रा

१२ भाद्र २०८३, शुक्रबार १५:५७

काठमाडौं । गुल्मीको धुर्कोटमा जन्मिएकी प्रतिमा केसीको परिचय अहिले ब्युटिसियनका रूपमा मात्रै सीमित छैन । नवलपरासी बर्दघाट सुस्तापश्चिमलाई कर्मथलो बनाएर विगत आठ वर्षदेखि बीमा अभिकर्ताका रूपमा सक्रिय उनी अहिले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बर्दघाट शाखामा एजेन्सी म्यानेजरको जिम्मेवारीमा छिन् । निरन्तरको मेहनत, सिक्ने इच्छाशक्ति र ग्राहकको विश्वास जित्ने प्रयासकै कारण उनले बीमा व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन् ।

तर उनको यो यात्रा सुरुदेखि नै सहज भने थिएन । बीमा क्षेत्रमा प्रवेश गर्नुअघि उनी ब्युटिसियनका रूपमा काम गर्थिन् । त्यही क्रममा तत्कालीन बर्दघाट शाखाका ब्रान्च म्यानेजर तथा हाल बुटवल शाखाका ब्रान्च म्यानेजर भीमप्रसाद सुवेदी उनको घरमा छोराको बीमा गराउन पुगे । त्यही भेटमा सुवेदीले उनलाई बीमा अभिकर्ताका रूपमा काम गर्न प्रस्ताव गरे । सुरुवातमा प्रतिमाले त्यस प्रस्तावलाई खासै गम्भीरतापूर्वक लिइनन् । तर समयसँगै बीमा व्यवसायप्रति उनको रुचि बढ्दै गयो र अन्ततः उनी सिटिजन लाइफसँग जोडिइन् ।

बीमा क्षेत्रमा प्रवेश गरेपछि भने वास्तविक चुनौती सुरु भयो । उनलाई आफैंलाई बीमाबारे पर्याप्त जानकारी थिएन । ग्राहकलाई बीमा बुझाउन र पोलिसी खरिदका लागि विश्वस्त पार्न झनै कठिन थियो । त्यतिबेला उनले सुवेदीसँग सहयोग मागिन् । सुवेदीले उनलाई एउटा कुरा स्पष्ट रूपमा बुझाए—ग्राहकलाई बीमा बुझाउनुअघि आफू बीमाबारे पूर्ण रूपमा स्पष्ट हुनुपर्छ । त्यसपछि कम्पनीका विभिन्न पोलिसी, बीमाका विशेषता तथा आवश्यक पक्षबारे उनले प्रतिमालाई विस्तृत रूपमा जानकारी गराए । यतिमात्र होइन केही ग्राहकको घरमा आफैंसँगै लिएर गएर ग्राहकसँग कसरी संवाद गर्ने र बीमा योजनाबारे कसरी बुझाउने भन्ने व्यावहारिक सिकाइसमेत दिए ।

त्यसपछि प्रतिमाले पनि हिम्मत हारिनन् । शाखा प्रमुखको प्रेरणा र आफ्नो इच्छाशक्तिलाई आधार बनाएर निरन्तर काम गर्दै गइन् । त्यसको परिणाम उनको उपलब्धिमा देखिन थाल्यो । उनी पटक–पटक ‘हिरो अफ द मन्थ’ र ‘हिरो अफ द इयर’ बन्न सफल भइन् । तीन–तीन पटक गोल्डेन क्लब र डायमण्ड क्लबमा छनोट भइसकेकी प्रतिमा हालसम्म दुईपटक एमडीआरटीसमेत बन्न सफल भएकी छन् । अहिलेसम्म उनले करिब १२ सय बीमा पोलिसी बिक्री गरिसकेकी छन् ।

उनको सफलताको अर्को महत्वपूर्ण आधार भनेको ग्राहकसँगको व्यवहार हो । आफ्नै चिनजानका ग्राहकलाई बीमा प्रस्ताव राख्दा आफूले उनीहरूसँग गरेको सहयोग र योगदानले विश्वास निर्माणमा सहजता हुने उनी बताउँछिन् । तर नयाँ ग्राहकका हकमा भने उनले थप मेहनत गर्नुपर्ने हुन्छ । “सबैभन्दा पहिले ग्राहकलाई बीमा के हो भन्ने कुरा बुझाउनुपर्छ,” उनी भन्छिन्, “त्यसपछि कम्पनीले गरेका दाबी भुक्तानीका उदाहरण, कम्पनीको समग्र वित्तीय अवस्था र ग्राहकको आर्थिक क्षमताअनुसार उपयुक्त योजना बुझाएर मात्रै निर्णय लिन सहयोग गर्छु ।”

उनको अनुभवमा केही वर्षअघिसम्म बीमा गराउन निकै कठिन थियो । विभिन्न फर्जी कम्पनी र नेटवर्किङ व्यवसायका कारण आम नागरिकमा बीमाप्रति समेत नकारात्मक धारणा बनेको उनी सम्झिन्छिन् । कतिपयले बीमालाई पैसा उठाएर भाग्ने माध्यम त कतिपयले मरेपछि मात्रै काम लाग्ने कुराका रूपमा बुझ्ने गरेको उनको अनुभव छ । तर अहिले परिस्थिति धेरै परिवर्तन भएको उनी बताउँछिन् । ग्राहकमा बीमाबारे पहिलेजस्तो नकारात्मक धारणा नरहेको र राम्रोसँग बुझाउन सकेमा बीमा गर्न इच्छुक हुने गरेको उनको भनाइ छ ।

प्रतिमाका लागि बीमा व्यवसाय केवल पोलिसी बिक्री गर्ने काम होइन, ग्राहकको आर्थिक तथा पारिवारिक अवस्थालाई बुझेर उपयुक्त जोखिम सुरक्षा प्रदान गर्ने जिम्मेवारी पनि हो । “ग्राहकको आर्थिक अवस्था नहेरी बीमा गराउनु हुँदैन,” उनी भन्छिन्, “अभिकर्ताले पोलिसी बिक्री गर्ने मात्र होइन, गूड सर्भिस् पनि दिन सक्नुपर्छ ।” उनका अनुसार अहिले बीमा भविष्यको बचत र आर्थिक सुरक्षासँग जोडिएको महत्वपूर्ण माध्यम बनेको छ । बैंक तथा अन्य वित्तीय संस्थामा पनि बचत गर्न सकिने भए पनि जोखिमका समयमा आर्थिक सुरक्षा प्रदान गर्ने दृष्टिले बीमाको छुट्टै महत्व रहेको उनको बुझाइ छ ।

आफ्नो सफलतामा परिवारसँगै कम्पनीको सहयोगलाई पनि उनी महत्वपूर्ण मान्छिन् । उनका अनुसार बीमा अभिकर्ता बन्न सबैभन्दा आवश्यक कुरा ठूलो लगानी वा विशेष पृष्ठभूमि नभई केही गर्छु भन्ने इच्छाशक्ति हो । बीमा अभिकर्ता पेशाको अर्को विशेषता समयको लचकता भएको उनी बताउँछिन् । अन्य पेशासँगै पार्टटाइमका रूपमा पनि यो काम गर्न सकिने र पूर्ण समय दिए अझ प्रभावकारी रूपमा अघि बढ्न सकिने उनको अनुभव छ । नयाँ पुस्तालाई बीमा अभिकर्ता पेशामा आउन आग्रह गर्दै उनी भन्छिन्, “अरूको करकापमा परेर होइन, आफ्नै इच्छाले यो पेशामा आउनुपर्छ । गर्न सक्छु भन्ने दृढ अठोट र इच्छाशक्ति लिएर आउने हो भने बीमा क्षेत्रमा सफल हुन सकिन्छ ।”

आठ वर्षअघि एउटा सामान्य प्रस्तावबाट सुरु भएको प्रतिमाको बीमा यात्रा अहिले सयौं परिवारसँग जोडिएको छ । घरघरमा पुगेर जोखिमको रक्षावरण र वित्तीय सुरक्षाबारे सचेतना फैलाउँदै आएकी उनी आगामी दिनमा पनि यही यात्रालाई निरन्तरता दिने लक्ष्यमा छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*