बाढीपछि नेपाल पुनर्बीमालाई ठूलो झट्काः साख मूल्याङ्कन खस्कियो, नकारात्मक निगरानी कायमै

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको वित्तीय अवस्था थप जोखिममा पर्न सक्ने देखिएपछि कम्पनीको साख मूल्याङ्कन घटाइएको छ। इक्रा नेपालले नेपाल पुनर्बिमा कम्पनीको जारीकर्ता साख मूल्याङ्कन ‘आईसीआरए एनपी–आईआर ए’ बाट घटाएर ‘आईसीआरए एनपी–आईआर ए माइनस’ कायम गरेको हो। यससँगै कम्पनीमाथि रहेको ‘नकारात्मक प्रभावसहित निगरानी’ अवस्थालाई पनि निरन्तरता दिइएको छ।
इक्रा नेपालले सार्वजनिक गरेको मूल्याङ्कनअनुसार कम्पनीको जारीकर्ता साख मूल्याङ्कन ‘आईसीआरए एनपी–आईआर ए माइनस’ मा झारिएको हो। यसअघि कम्पनीको मूल्याङ्कन ‘आईसीआरए एनपी–आईआर ए’ रहेको थियो। मूल्याङ्कनमा प्रयोग गरिएको ‘एट’ चिन्हले कम्पनी ‘नकारात्मक प्रभावसहित निगरानी’ मा रहेको जनाउँछ। मूल्याङ्कनमा ‘प्लस’ वा ‘माइनस’ चिह्न थपिनुले सम्बन्धित मूल्याङ्कन वर्गभित्र संस्थाको तुलनात्मक अवस्थालाई जनाउने इक्रा नेपालले जनाएको छ।
घटाइएको मूल्याङ्कनले कम्पनीमा वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका लागि पर्याप्त स्तरको सुरक्षा रहेको देखाए पनि कम्पनीमाथि थप वित्तीय दबाब र जोखिम बढेको संकेत गरेको छ। यस्तो मूल्याङ्कन भएका संस्थामा ऋण जोखिम कम मानिए पनि नेपाल पुनर्बिमा कम्पनीको पछिल्लो अवस्थाले जोखिम थप बढ्न सक्ने देखाएको छ। इक्रा नेपालको मूल्याङ्कन कम्पनीको कुनै निश्चित ऋणपत्र वा वित्तीय साधनसँग मात्र सम्बन्धित नभई संस्थाको समग्र साख क्षमतासम्बन्धी राय हो।
साख मूल्याङ्कन घटाउनुको मुख्य कारण २६ अगस्ट २०२६ मा आएको विनाशकारी आकस्मिक बाढीबाट उत्पन्न हुने क्षतिपूर्ति दाबीमा नेपाल पुनर्बिमा कम्पनीले व्यहोर्नुपर्ने सम्भावित ठूलो हिस्सा रहेको इक्रा नेपालले जनाएको छ। उक्त बाढीले ठूलो मानवीय क्षति पुर्याउनुका साथै नदी बेसिन क्षेत्रमा रहेका करिब ७०० मेगावाट जडित क्षमताका विभिन्न विद्युत् आयोजनामा व्यापक क्षति पुर्याएको छ। बाढीले भन्सार जाँच तथा निकासीको प्रतीक्षामा रहेका निजी तथा व्यावसायिक सवारीसाधनसहित ठूलो संख्यामा सवारीसाधन बगाएको छ भने अन्य विभिन्न बिमा गर्न मिल्ने सम्पत्तिमा समेत ठूलो क्षति पुगेको छ।
बाढीबाट भएको क्षतिको परिणामस्वरूप समग्र क्षतिपूर्ति दाबीको रकम उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ। त्यसको प्रत्यक्ष असर नेपाल पुनर्बिमा कम्पनीले व्यहोर्नुपर्ने क्षतिपूर्तिको हिस्सामा पर्ने देखिएको छ। सम्भावित रूपमा बढ्ने क्षतिपूर्ति दाबीलाई धान्न कम्पनीले यस्ता विपत्तिका लागि गरेको जोखिम संरक्षण पर्याप्त नहुन सक्ने इक्रा नेपालको आकलन छ। जोखिम संरक्षण पर्याप्त नभएमा कम्पनीले आफ्नै स्रोतबाट ठूलो रकम व्यहोर्नुपर्ने अवस्था आउन सक्ने र त्यसले कम्पनीको पहिले नै कमजोर बनेको खुद सम्पत्तिमा थप क्षति पुर्याउन सक्ने जोखिम रहेको छ।
नेपाल पुनर्बिमा कम्पनीको खुद सम्पत्तिमा यसअघि नै सेप्टेम्बर २०२५ मा भएका दंगासम्बन्धी क्षतिपूर्ति दाबीका कारण दबाब परिसकेको छ। त्यसमाथि अहिलेको विनाशकारी बाढीबाट उत्पन्न हुने ठूलो क्षतिपूर्ति दाबी थपिएमा कम्पनीको वित्तीय तथा तरलता अवस्था अझ कमजोर बन्न सक्ने देखिएको छ। बाढीबाट उत्पन्न हुने कुल क्षतिपूर्ति दाबीको अन्तिम रकम र त्यसमा नेपाल पुनर्बिमा कम्पनीले व्यहोर्नुपर्ने वास्तविक हिस्सा भने अझै निश्चित भइसकेको छैन। त्यसैले क्षतिपूर्ति दाबीको अन्तिम परिमाणले कम्पनीको वित्तीय तथा तरलता अवस्थामाथि पार्ने प्रभाव नै आगामी दिनमा कम्पनीको साख मूल्याङ्कनका लागि मुख्य निगरानीको विषय बन्नेछ।
नेपाल पुनर्बिमा कम्पनी लिमिटेड सन् २००३ मा स्थापना गरिएको ‘बीमा पुल’को उत्तराधिकारी संस्था हो। तत्कालीन माओवादी द्वन्द्वका क्रममा उत्पन्न हुने दंगा, तोडफोड, आतंकवाद तथा दुर्भावनापूर्ण क्षतिबाट हुने नोक्सानीको जोखिम व्यहोर्ने उद्देश्यले उक्त बीमा पुल स्थापना गरिएको थियो। पछि नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त पुललाई पुनर्बिमा कम्पनीमा रूपान्तरण गर्ने क्रममा नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको स्थापना ७ नोभेम्बर २०१४ मा कम्पनी ऐन, २०६३ अन्तर्गत भएको थियो। कम्पनीले डिसेम्बर २०१४ देखि आफ्नो कारोबार सुरु गरेको हो। यो नेपालमा स्थापना भएको पहिलो नेपाली पुनर्बिमा कम्पनी हो।
मध्य जुलाई २०२५ सम्म नेपाल पुनर्बिमा कम्पनीको चुक्ता पुँजी करिब १३ अर्ब ४२ करोड २० लाख रुपैयाँ रहेको थियो भने खुद सम्पत्ति करिब २० अर्ब ५२ करोड ७० लाख रुपैयाँ रहेको थियो। कम्पनीको सेयर स्वामित्व प्रवर्द्धक तथा सर्वसाधारणबीच ८४ः१६ को अनुपातमा रहेको छ। कम्पनीमा नेपाल सरकारको करिब ४४ प्रतिशत, निर्जीवन बिमा कम्पनीहरूको करिब २७ प्रतिशत, जीवन बिमा कम्पनीहरूको करिब ६ प्रतिशत, सार्वजनिक सीमित कम्पनीहरूको करिब ७ प्रतिशत तथा सर्वसाधारणको १६ प्रतिशत सेयर स्वामित्व रहेको छ।









