वाणिज्य बैंकबाट प्रवाह भएको सहुलियत कर्जा लगानीमा रूपान्तरण हुन सकेन

२७ आश्विन २०८३, मंगलवार १२:५२

काठमाडौं । लक्षित वर्गलाई आर्थिक रूपमा सबल बनाउँदै कृषि, उद्यमशीलता, व्यवसाय विस्तार र रोजगारी सिर्जनामा सहयोग पुर्‍याउने उद्देश्यले सरकारले सञ्चालन गरेको सहुलियतपूर्ण कर्जा कार्यक्रमको कार्यान्वयनमा अपेक्षित प्रगति हुन नसकेको देखिएको छ । वाणिज्य बैंकहरूले ठूलो परिमाणमा कर्जा स्वीकृत गरे पनि स्वीकृत रकमको तुलनामा वास्तविक लगानी निकै कम रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो ।

राष्ट्र बैंकका अनुसार २० वटा वाणिज्य बैंकले ३७ हजार ८४४ ऋणीका लागि कुल ५७ अर्ब ११ करोड २२ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत गरेका छन् । तर, चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा २८ अर्ब ८८ करोड ३१ लाख रुपैयाँ मात्रै बक्यौता कर्जाका रूपमा रहेको छ । स्वीकृत रकम र बक्यौता कर्जाबीच २८ अर्ब २२ करोड ९१ लाख रुपैयाँको अन्तर देखिएको छ । अर्थात् स्वीकृत कुल रकमको करिब आधा हिस्सा बराबरको रकम बक्यौता कर्जाका रूपमा देखिएको छैन ।

सरकारले ब्याज अनुदानमार्फत लक्षित समुदाय तथा व्यवसायीलाई सहज वित्तीय पहुँच उपलब्ध गराउने नीति लिए पनि कर्जा स्वीकृत भएपछि रकम वास्तविक रूपमा कति परिचालन भयो भन्ने विषयले कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।

ऋणीको संख्याका आधारमा राष्ट्रिय वाणिज्य बैंक सहुलियतपूर्ण कर्जा वितरणमा अगाडि रहेको छ । बैंकबाट ५ हजार ११५ जनाले यस्तो कर्जा लिएका छन् । बैंकले ६ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी कर्जा स्वीकृत गरेकोमा साउन मसान्तसम्म ४ अर्ब ६१ करोड ९४ लाख रुपैयाँ बक्यौता रहेको छ । त्यस्तै, कृषि विकास बैंकबाट ५ हजार ८० जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् ।

अन्य बैंकमध्ये लक्ष्मी सनराइज बैंकबाट ४ हजार ३९७, नेपाल बैंकबाट ४ हजार २३१ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ३ हजार ७७४ जना ऋणीले यस्तो सुविधा लिएका छन् । नबिल बैंकमा ३ हजार ११६, ग्लोबल आईएमई बैंकमा २ हजार १३३, एनएमबी बैंकमा १ हजार ४८३, सानिमा बैंकमा १ हजार २५५ र कुमारी बैंकमा १ हजार १७८ जना सहुलियतपूर्ण कर्जाका ऋणी रहेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

कर्जा स्वीकृत रकमका आधारमा भने कृषि विकास बैंक पहिलो स्थानमा छ । बैंकले ७ अर्ब ९५ करोड १७ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले ६ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी, लक्ष्मी सनराइज बैंकले ६ अर्ब २८ करोड ७१ लाख, नेपाल बैंकले ६ अर्ब १८ करोड १६ लाख र नबिल बैंकले ५ अर्ब १८ करोड ७४ लाख रुपैयाँ कर्जा स्वीकृत गरेका छन् ।

यसैगरी नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३ अर्ब ९८ करोड ४५ लाख, कुमारी बैंकले ३ अर्ब ६१ करोड रुपैयाँ, ग्लोबल आईएमई बैंकले ३ अर्ब १७ करोड ५३ लाख र एनएमबी बैंकले ३ अर्ब ११ करोड ३७ लाख रुपैयाँ कर्जा स्वीकृत गरेका छन् । यी विवरणले सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत बैंकहरूले उल्लेख्य रकम स्वीकृत गरेको देखाए पनि त्यसको वास्तविक उपयोगको अवस्था छुट्टै विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याउँछन् ।

केही बैंकमा भने सहुलियतपूर्ण कर्जा लिनेको संख्या निकै कम छ । एनआईसी एसिया बैंकबाट ६ जनाले मात्रै यस्तो कर्जा लिएका छन् । बैंकले ९ करोड ३ लाख ४० हजार रुपैयाँ स्वीकृत गरेकोमा ७ करोड ४५ लाख २८ हजार रुपैयाँ बक्यौता रहेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा १७ जना, नेपाल एसबीआई बैंकमा २७३ जना र सिटिजन्स बैंकमा ४७० जना ऋणीले मात्रै सहुलियतपूर्ण कर्जा लिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*