बीमा कम्पनीद्वारा दुई महिनामै १३ अर्ब ६८ करोड दाबी भुक्तानी, जीवन बीमकले मात्रै तिरे साढे ९ अर्ब

काठमाडौं । दुई महिनामै जीवन बीमा कम्पनीले साढे १३ अर्बभन्दा बढी दाबी भुक्तानी गरेका छन् । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले १३ अर्ब ६८ करोड ६० लाख ९४ हजार रुपैयाँ दाबीबापत भुक्तानी गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार उक्त रकम ७३ हजार ६१२ वटा दाबीको भुक्तानीमा खर्च भएको हो ।
अघिल्लो आर्थिक वर्ष २०८२।०८३ को साउन र भदौ ६५ हजार ७४५ वटा दाबीमा ११ अर्ब ५२ करोड २७ लाख रुपैयाँ भुक्तानी भएको थियो ।
समीक्षा महिनामा जीवन बीमा कम्पनीहरूले मात्रै ९ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । यो रकम ४९ हजार ७७३ वटा दाबीमा भुक्तानी गरिएको हो । गत वर्षको सोहि अवधिमा जीवन बीमकहरूले४३ हजार ३६३ वटा दाबीमा ८ अर्ब २६ करोड ८९ लाख रुपैयाँ तिरेका थिए ।

यता, निर्जीवन बीमकहरूले मात्रै दुई महिनामा २३ हजार ८३९ वटा दाबीमा ३ अर्ब ९९ करोड ४ लाख रुपैयाँ भुक्तानी गरेका छन् । गत वर्षको सोहि अवधिमा २२ हजार ३८२ वटा दाबीमा ३ अर्ब २५ करोड ३८ लाख रुपैयाँ भुक्तानी गरिएको थियो ।
भुक्तानी हुन बाँकी अझै कति ?
साउन र भदौ महिनामा भुक्तानी हुन बाँकी जीवन बीमाका दाबी १ लाख २१ हजार ६४४ पुगेका छन् । यी दाबीमा ९ अर्ब ७१ करोड ९० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
गत वर्षको सोही अवधिमा ५६ हजार ५९७ वटा जीवन बीमाका दाबी फछ्र्योट हुन बाँकी थिए भने तिनको दाबी रकम ४ अर्ब ७५ करोड ८३ लाख रुपैयाँ थियो । एक वर्षमै बाँकी दाबी संख्या ११४ प्रतिशत र रकम १०४ प्रतिशतले बढ्नुले जीवन बीमा क्षेत्रमा दाबी व्यवस्थापनको चाप बढेको देखिएको छ ।
उता, निर्जीवन बीमामा पनि फछ्र्योट हुन बाँकी दाबीको संख्या र रकम बढेको छ । चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा १ लाख १४ हजार ६ वटा दाबी भुक्तानी हुन बाँकी छन् । यी दाबीमा ५७ अर्ब ३५ करोड ८७ लाख रुपैयाँ बराबरको दायित्व बाँकी रहेको तथ्यांकले देखाएको छ ।
गत वर्षको साउन मसान्तमा निर्जीवन बीमकसँग १ लाख ५ हजार वटा दाबी फछ्र्योट हुन बाँकी थिए ।











