भोटेकोशी–त्रिशूली बाढीको प्रारम्भिक दाबी झण्डै २१ अर्ब, हालसम्म साढे २३ करोड भुक्तानी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण १८ निर्जीवन बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब बराबरको प्रारम्भिक दाबी परेको छ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज २८ गतेसम्मको बीमा दाबी विवरणका अनुसार १८ वटा निर्जीवन बीमा कम्पनीहरूमा २० अर्ब ९० करोड ४५ हजार रुपैयाँ बराबरको अनुमानित/प्रारम्भिक दाबी परेको हो। त्यसमध्ये हालसम्म २३ करोड ५२ लाख ५८ हजार रुपैयाँ सम्बन्धित बीमितलाई दाबी भुक्तानी गरिसकिएको तथ्यांकले देखाएको छ। जम्मा २ हजार ४२७ जना बीमितबाट उक्त दाबी परेको हो।
सबैभन्दा धेरै सम्पत्ति बीमातर्फ ९ अर्ब ५७ करोड १९ लाख ८७ हजार रुपैयाँ, इन्जिनियर तथा ठेक्का जोखिमतर्फ ४ अर्ब ३९ करोड ७२ लाख ५८ हजार, मोटर बीमातर्फ २ अर्ब ८५ करोड ३४ हजार रुपैयाँ, परिवहन बीमातर्फ २ अर्ब ३४ करोड ५ लाख ९१ हजार रुपैयाँ, अन्य बीमातर्फ १ अर्ब ५० करोड १० लाख ३२ हजार रुपैयाँ र स्वास्थ्य बीमातर्फ २३ करोड ९१ लाख ४४ हजार रुपैयाँ प्रारम्भिक दाबी परेको छ।
त्यसमध्ये हालसम्म सम्पत्ति बीमातर्फ ८ करोड ६२ लाख ८३ हजार रुपैयाँ, इन्जिनियर तथा ठेक्का जोखिमतर्फ ३० लाख रुपैयाँ, मोटर बीमातर्फ ६ करोड ७४ हजार रुपैयाँ, परिवहन बीमातर्फ ७ करोड ८२ लाख ७२ हजार रुपैयाँ र अन्य बीमातर्फ ७६ लाख ३० हजार रुपैयाँ भुक्तानी भइसकेको छ। यसमा अग्रिम भुक्तानी समेत जोडिएको छ। सबैभन्दा धेरै दाबी भने मोटर बीमातर्फ परेको छ भने त्यसपछि सम्पत्ति बीमा र अन्य बीमामा परेको तथ्यांकले देखाएको छ।











