लाभांश पारित गर्न मञ्जुश्री फाइनान्सले बोलायो साधारणसभा

३० आश्विन २०८३, शुक्रबार ०७:५८

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले आगामी कात्तिक २० गते शुक्रबार १९औँ वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनीको साधारणसभा काठमाडौंको नयाँबानेश्वरस्थित थापागाउँ ब्याङ्केटमा बिहान ११ बजे बस्नेछ। सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव पनि पेस हुनेछ।

कम्पनीको हाल कायम चुक्ता पुँजीका आधारमा प्रस्तावित १५ प्रतिशत नगद लाभांश कर प्रयोजनसमेतका लागि वितरण गरिनेछ। त्यसैगरी ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। दुवै प्रस्ताव साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीले लाभांश प्राप्त गर्नेछन्।

सभामा कम्पनीको पुँजी वृद्धि गर्ने विषय पनि विशेष प्रस्तावका रूपमा पेस गरिनेछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४० करोड रुपैयाँ बराबरका ४० लाख अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव गरेको छ। यी शेयरमा वार्षिक ८.७५ प्रतिशत लाभांश दर प्रस्ताव गरिएको छ। तर मुनाफा भएको वर्षमा मात्रै लाभांश वितरण हुने व्यवस्था रहनेछ। यस्तो शेयर जारी गर्न नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित नियामक निकायको स्वीकृति आवश्यक पर्नेछ।

बोनस शेयर वितरण र अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित भएमा कम्पनीको अधिकृत पुँजी १ अर्ब ३६ करोड रुपैयाँबाट बढाएर १ अर्ब ८३ करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव पनि सभामा पेस हुनेछ। यसका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत राखिएको छ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक ११ गते शेयर दाखिल खारेज बन्द गर्ने जनाएको छ। त्यसैले कात्तिक १० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई सम्बन्धित शेयरधनीको नाममा शेयर नामसारी भइसकेका शेयरधनी मात्रै सभामा सहभागी हुन तथा प्रस्तावित बोनस शेयर र नगद लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*