एनपीएलमा बेटिङदेखि म्याच फिक्सिङसम्म विशेष निगरानी

९ कार्तिक २०८३, सोमबार ०७:५०

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) लाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गर्ने भएको छ । प्रतियोगितामा हुन सक्ने अनलाइन बेटिङ, म्याच फिक्सिङ तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीका विशेष टोली परिचालन गरिने भएको हो ।

सम्भावित म्याच फिक्सिङका गतिविधिमाथि निगरानी गर्न प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरीसमेत परिचालन गरिएका छन् । विगतका संस्करणमा रंगशालाभित्रै बसेर बेटिङ सञ्चालन गर्ने भारतीय नागरिक पक्राउ परेका घटनालाई ध्यानमा राख्दै यसपटक डिजिटल माध्यमबाट निगरानी बढाउनुका साथै सादा पोसाकमा प्रहरी खटाइने भएको छ ।

एनपीएल नेपालको प्रतिष्ठासँग जोडिएको प्रतियोगिता भएकाले सुरक्षा व्यवस्थामा कुनै कमजोरी हुन नदिन प्रहरीले विशेष सतर्कता अपनाएको छ । यसपटक अघिल्ला संस्करणको तुलनामा धेरै विदेशी खेलाडी सहभागी हुने भएकाले उनीहरूको सुरक्षालाई समेत प्राथमिकतामा राखेर योजना बनाइएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा मात्रै एक हजार १२५ प्रहरी परिचालन गरिनेछ । त्यस्तै, त्रिवि क्रिकेट मैदानको बाहिरी सुरक्षा घेरामा सशस्त्र प्रहरी बलसमेत परिचालन गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

खेलाडी बस्ने होटलहरूमा पनि सुरक्षाका लागि प्रहरी खटाइएको छ । रंगशालामा दैनिक रूपमा तालिमप्राप्त कुकुरको प्रयोग गरी सुरक्षा जाँच गरिनेछ भने ड्रोनमार्फत समेत निगरानी राखिनेछ । प्रहरीले सूचनामा आधारित सुरक्षा प्रणाली अपनाउँदै सादा पोसाकमा खटिएका प्रहरीमार्फत सूचना संकलन गर्ने र प्रविधिको प्रयोग बढाउने जनाएको छ ।

एनपीएलको सुरक्षा व्यवस्थाबारे शनिबार जिल्ला प्रहरी कार्यालय, सुरक्षा अधिकारी र नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीबीच छलफल भएको थियो । आइतबार साँझ उच्च प्रहरी अधिकारीले समेत रंगशाला क्षेत्रको निरीक्षण गरी सुरक्षा व्यवस्थाबारे जानकारी लिएका थिए । क्यानसँगको छलफलमा खेलाडीको सुरक्षा, दर्शक व्यवस्थापन र पार्किङको विषयमा समेत चर्चा भएको थियो ।

विगतका संस्करणमा पार्किङ व्यवस्थापन र टिकटसम्बन्धी विवादले समस्या निम्त्याएका थिए । यसपटक पार्किङ क्षेत्र विस्तार गरिएको छ । टिकट नपाएका दर्शकले रंगशालाबाहिर नाराबाजी गर्ने अवस्था दोहोरिन नदिन प्रहरीले टिकट बिक्री तथा वितरणबारे समयमै र पारदर्शी रूपमा सूचना सार्वजनिक गर्न क्यानलाई आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*