सिटिजन्स सुपर ५० को इकाई मंसिर २ देखि खुल्ने, १ हजार रुपैयाँमै आवेदन दिन सकिने

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सुपर ५०’ को इकाई बिक्री आगामी मंसिर २ गतेदेखि खुला हुने भएको छ। बन्दमुखी प्रकृतिको उक्त योजनामार्फत सर्वसाधारणबाट ८५ करोड रुपैयाँ बराबरको लगानी संकलन गरिनेछ।
योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँका दरले कुल १० करोड इकाई निष्कासन गर्न लागिएको हो। कुल इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका लागि छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। यसअनुसार न्यूनतम १ हजार रुपैयाँ लगानी गरेर योजनामा सहभागी हुन सकिनेछ।
इकाई खरिदका लागि आवेदन दिने समय मंसिर ७ गतेसम्म तोकिएको छ। उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा बिक्री अवधि मंसिर १६ गतेसम्म लम्बिनेछ।
‘सिटिजन्स सुपर ५०’ को योजना व्यवस्थापक तथा डिपोजिटरीको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले सम्हाल्नेछ।











