सर्वोत्तम सिमेन्टको नाफा ३२ करोडबाट घटेर १० करोडमा झर्‍यो, बिक्री लागत १ अर्ब ९१ करोड पुग्यो

२० कार्तिक २०८३, शुक्रबार ०७:४८

सर्वोत्तम सिमेन्टको नाफामा ६७.९५ प्रतिशतको गिरावट, आम्दानी बढ्दा पनि नाफा १० करोडमा सीमित

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा उल्लेख्य घटेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १० करोड ३९ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ४२ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको नाफा ६७.९५ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी भने बढेको छ। कम्पनीले २ अर्ब २० करोड ४४ लाख १६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ९७ करोड ५७ लाख ४७ हजार रुपैयाँ रहेको थियो। यसअनुसार कम्पनीको सञ्चालन आम्दानी ११.५७ प्रतिशतले बढेको देखिन्छ।

तर सञ्चालन आम्दानी बढे पनि बिक्री लागतमा भएको उच्च वृद्धिका कारण कम्पनीको कुल नाफामा दबाब परेको छ। गत वर्ष १ अर्ब ३६ करोड ३१ लाख १६ हजार रुपैयाँ रहेको बिक्री लागत बढेर समीक्षा अवधिमा १ अर्ब ९१ करोड ७३ लाख ९७ हजार रुपैयाँ पुगेको छ। फलस्वरूप कम्पनीको कुल नाफा गत वर्षको ६१ करोड २६ लाख ३१ हजार रुपैयाँबाट घटेर २८ करोड ७० लाख १८ हजार रुपैयाँमा सीमित भएको छ।

कम्पनीले समीक्षा अवधिमा अन्य आम्दानीबाट ६ करोड ५४ लाख ३५ हजार रुपैयाँ प्राप्त गरेको छ। प्रशासनिक खर्च ३ करोड ३८ लाख ७१ हजार रुपैयाँ, बिक्री तथा वितरण खर्च १३ करोड ३ लाख ३९ हजार रुपैयाँ र वित्तीय खर्च ६ करोड १७ लाख ७७ हजार रुपैयाँ रहेको छ। कम्पनीको कुल खर्च २२ करोड ५९ लाख ८८ हजार रुपैयाँ पुगेको छ।

करअघिको नाफा पनि उल्लेख्य घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३९ करोड ६९ लाख रुपैयाँ रहेको करअघिको नाफा चालु आर्थिक वर्षको सोही अवधिमा १२ करोड ६४ लाख ६४ हजार रुपैयाँमा झरेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी ७.९६ पैसा रहेको छ। प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ ३४ पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३३७रुपैयाँ ०१पैसा रहेको छ।

यस्तै, कम्पनीको कुल सम्पत्ति १७ अर्ब ६० करोड ६३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल सम्पत्ति १५ अर्ब ३७ करोड १९ लाख रुपैयाँ रहेको थियो। कम्पनीको चुक्ता पुँजी ५ अर्ब २२ करोड ४२ लाख ७५ हजार रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*