नबिल ग्रोथ फण्डको १ अर्ब रुपैयाँको इकाई मंसिर ९ देखि बिक्रीमा आउँदै

२७ कार्तिक २०८३, शुक्रबार ११:३८

काठमाडौं । नबिल बैंक लिमिटेडको कोष प्रवद्र्धन तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालन हुने ‘नबिल ग्रोथ फण्ड’ को इकाई मंसिर ९ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला हुने भएको छ।

नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने उक्त बन्दमुखी योजनाले प्रतिइकाई १० रुपैयाँका दरले कुल १० करोड इकाई निष्कासन गर्न लागेको हो। यसअनुसार योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहनेछ।

कुल निष्कासनमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक नबिल बैंकका लागि र १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङका लागि छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्। प्रतिइकाई १० रुपैयाँका दरले न्यूनतम १ हजार रुपैयाँ लगानी गरेर यस योजनामा सहभागी हुन सकिनेछ। यस योजनामा मंसिर १४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा मागअनुसार इकाई बिक्री नभएमा निष्कासन अवधि मंसिर २३ गतेसम्म लम्बिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। त्यसैगरी मेरो शेयर अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

नबिल ग्रोथ फण्ड १० वर्षे अवधिको बन्दमुखी म्युचुअल फण्ड योजना हो। इकाई बाँडफाँड भएको मितिदेखि यसको अवधि गणना हुनेछ। योजनाको अवधि समाप्त भएपछि परिपक्व हुनेछ। योजनाबाट प्राप्त हुने खुद वितरणयोग्य मुनाफाका आधारमा इकाईको अंकित मूल्यलाई आधार मानी लगानीकर्तालाई मुनाफा वितरण गरिने विवरण पुस्तिकामा उल्लेख छ। सञ्चित मुनाफा भने पुनः लगानी गरिनेछ।

यस योजनामा नेपाली नागरिक, गैरआवासीय नेपाली, प्रचलित कानुनअनुसार दर्ता भएका फर्म, कम्पनी, संघसंस्था तथा बैंक तथा वित्तीय संस्थासहित विभिन्न संस्थागत लगानीकर्ताले समेत आवेदन दिन सक्नेछन्। निष्कासनबाट प्राप्त इकाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गरी दोस्रो बजारमा कारोबारको व्यवस्था गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*