मकवानपुरमा भएको ईभी दुर्घटनामा प्रधानमन्त्री कार्यालयद्वारा दुःख व्यक्त, छानबिन गर्न समिति गठन

२७ कार्तिक २०८३, शुक्रबार १३:०८

काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएपछि सरकारले घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ। सरकारले दुर्घटनामा घाइते भएकाहरूको उपचार तथा मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया पनि अघि बढाएको जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कात्तिक २६ गते बिहीबार बिहान भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेको हो।

काठमाडौं–सर्लाही रुटमा सञ्चालन हुँदै आएको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक सवारी अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। दुर्घटनामा ज्यान गुमाउनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका र एक जना चालक कविलासी नगरपालिकाका बासिन्दा रहेको सरकारले जनाएको छ।

छठ पर्व मनाउन घर जाने क्रममा यात्रुहरू दुर्घटनामा परेका थिए। सरकारका अनुसार घाइतेमध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशन दिइसकिएको पनि विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र प्रचलित बिमा कानुनअनुसार घाइतेहरूको उपचार खर्च तथा मृतकका परिवारले पाउने क्षतिपूर्ति र बिमा रकम यथाशीघ्र उपलब्ध गराउन सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरी प्रक्रिया अघि बढाइएको सरकारले जनाएको छ।

दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ। समितिले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसमेत दिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*