हिमालयन लाइफले कमायो ९ करोड ९० लाख नाफा, जीवन बीमाकोष खर्ब नजिक

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा घटेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीले ९ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.५० प्रतिशत कम हो।
गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कम्पनीले १२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। तर चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नाफा घटेर ९ करोड ९० लाख रुपैयाँमा सीमित भएको हो।
कम्पनीको आम्दानी र खर्च दुवै बढे पनि खर्चको वृद्धिदर आम्दानीको भन्दा बढी देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा ६ अर्ब २ करोड ४० लाख रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ५२ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ। यसअनुसार कम्पनीको कुल आम्दानी ८.२५ प्रतिशतले बढेको छ।
यता कम्पनीको कुल खर्च भने ९.८६ प्रतिशतले बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ५ अर्ब ८३ करोड ९० लाख रुपैयाँ रहेको कुल खर्च चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ६ अर्ब ४१ करोड ४९ लाख रुपैयाँ पुगेको छ। आम्दानीको तुलनामा खर्च बढी दरले बढ्दा कम्पनीको खुद नाफामा दबाब परेको देखिन्छ।

कम्पनीको खुद बीमाशुल्क आर्जनमा भने सुधार भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ अर्ब ३ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ। यो गत वर्षको तुलनामा १६.४२ प्रतिशत बढी हो।
त्यस्तै कम्पनीको जीवन बीमा कोष पनि बढेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्म ८० अर्ब ३१ करोड रुपैयाँ रहेको जीवन बीमा कोष चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर ९३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। यसमा १६.११ प्रतिशतको वृद्धि देखिएको छ।
यद्यपि कर्जा तथा लगानीबाट हुने आम्दानीमा भने गिरावट आएको छ। गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ३५ करोड ९ लाख रुपैयाँ रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा घटेर १ अर्ब २२ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ। यो ८.८७ प्रतिशतको गिरावट हो।
कम्पनीको चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको छ। प्रतिशेयर आम्दानी (ईपीएस) भने गत वर्षको ५ रुपैयाँ ५९ पैसाबाट घटेर ४ रुपैयाँ ३३ पैसा कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ ९१ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ।











