२२ करोडको हेरोइनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । करिब २२ करोड रुपैयाँ बजार मूल्य बराबरको ५.५ किलो सेतो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोले भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवाराज तिघारेलाई पक्राउ गरेको हो।
ब्युरोका अनुसार तिघारे गत कात्तिक २८ गते थाइल्याण्डबाट हवाई मार्ग हुँदै काठमाडौं आएका थिए। विदेशबाट नेपाल आउने यात्रुमार्फत लागुऔषध भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यात्रुहरूको विवरण विश्लेषण तथा निगरानी गर्ने क्रममा उनीमाथि शंका गरिएको थियो।
त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको लगेज जाँच गर्दा खरायो र बिरालोको खानाका प्याकेटभित्र लुकाएर राखिएको ५.५ किलो सेतो हेरोइन बरामद भएको ब्युरोले जनाएको छ। बरामद लागुऔषधको बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको बताइएको छ।











