कुमारी बैंकको रेटिङ बढ्यो, ‘डबल बी प्लस’बाट ‘ट्रिपल बी माइनस’मा उक्लियो

२९ कार्तिक २०८३, आईतवार १५:४९

काठमाडौँ । कुमारी बैंक लिमिटेडको वित्तीय अवस्था र ऋण भुक्तानी क्षमता थप सुदृढ बन्दै गएसँगै बैंकको संस्थागत साख मूल्याङ्कन बढेको छ। इक्रा नेपालले  सार्वजनिक गरेको पछिल्लो मूल्याङ्कनअनुसार बैंकको संस्थागत साख मूल्याङ्कन यसअघि रहेको ‘बीबी प्लस’बाट बढाएर ‘बीबीबी माइनस’ कायम गरेको हो।

बैंकले जारी गरेको ६ अर्ब रुपैयाँ बराबरको अधीनस्थ ऋणपत्रको साख मूल्याङ्कनसमेत ‘एलबीबी प्लस’बाट बढाएर ‘एलबीबीबी माइनस’ पुर्‍याइएको छ। यससँगै बैंकको वित्तीय दायित्व समयमै भुक्तानी गर्न सक्ने क्षमताप्रति मूल्याङ्कनकर्ताको विश्वास बढेको देखिएको छ। नयाँ मूल्याङ्कनले बैंकको वित्तीय सुरक्षाको अवस्था मध्यमस्तरको रहेको र यसले वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमतामा सुधार आएको संकेत गरेको छ।

बैंकको साख मूल्याङ्कन बढ्नुमा पुँजीको अवस्थामा आएको सुधार र सहज तरलता प्रमुख आधार बनेका छन्। सन् २०२६ जुलाई मध्यसम्म बैंकको जोखिम भारित सम्पत्तिको तुलनामा कुल पुँजी अनुपात १३.५० प्रतिशत पुगेको छ भने प्राथमिक पुँजी अनुपात ९.८७ प्रतिशत कायम भएको छ। अघिल्लो मूल्याङ्कनका बेला यी अनुपात क्रमशः १२.९८ र ८.९४ प्रतिशत थिए। प्राथमिक पुँजी अनुपात सन् २०२५ जुलाई मध्यदेखि नै नियामकीय न्यूनतम सीमाभन्दा माथि रहँदै आएको छ। बैंकको खुद तरल सम्पत्ति अनुपात करिब ४० प्रतिशत र कर्जा तथा निक्षेप अनुपात करिब ७७ प्रतिशत रहेको छ। यी दुवै सूचक नियामकीय सीमाभित्र रहेकाले बैंकको तत्कालीन वित्तीय दायित्व व्यवस्थापन गर्ने क्षमता सहज अवस्थामा रहेको देखिन्छ।

बैंकको नाफामा आएको उल्लेखनीय सुधारले समेत साख मूल्याङ्कन वृद्धिमा सकारात्मक योगदान पुर्‍याएको छ। आर्थिक वर्ष २०२५/२६ मा बैंकको कुल सम्पत्तिको प्रतिफल १.५८ प्रतिशत र खुद पुँजीको प्रतिफल १७.९८ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यी सूचक क्रमशः ०.५० र ५.८७ प्रतिशत मात्रै थिए। मुख्य व्यावसायिक कारोबारबाट प्राप्त आम्दानी तुलनात्मक रूपमा स्थिर रहनुका साथै कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकममध्ये केही रकम फिर्ता हुनुले नाफा बढाउन सहयोग गरेको हो। आर्थिक वर्ष २०२५/२६ मा बैंकले अघिल्ला वर्षहरूमा जस्तो ठूलो कर्जा नोक्सानी खर्च व्यहोर्नु नपरेको र केही ठूला कर्जामा नियामकीय आवश्यकताभन्दा बढी राखिएको व्यवस्था रकम फिर्ता हुनुले नाफामा थप टेवा पुगेको छ।

सन् २००१ देखि सञ्चालनमा रहेको कुमारी बैंकको लामो व्यावसायिक अनुभव, देशव्यापी शाखा सञ्जाल र अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन समूहलाई पनि बैंकका सकारात्मक पक्षका रूपमा लिइएको छ। विभिन्न वित्तीय संस्थासँगको गाभिने तथा प्राप्ति प्रक्रियाबाट आफ्नो व्यावसायिक आकार विस्तार गर्दै आएको बैंकले सन् २०२३ जनवरीमा नेपाल क्रेडिट एन्ड कमर्स बैंकसँग गाभिएपछि सेवा सञ्जाल र बजार पहुँच थप फराकिलो बनाएको हो। यसले आगामी दिनमा कर्जाको माग बढ्दै जाँदा विविध क्षेत्रमा व्यावसायिक विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*