अमेरिकाको मियामी विमानस्थलमा दुई विमानबीच ठक्कर

२९ कार्तिक २०८३, आईतवार १४:२७

काठमाडौं । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार राति दुईवटा विमान आपसमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्। ट्याक्सीवेमा गुडिरहेका बेला कोपा एयरलाइन्सको बोइङ ७३७ र यूपीएसको बोइङ ७६७ कार्गो विमान एकापसमा ठोक्किएका हुन्।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार कोपा एयरलाइन्सको विमानको पखेटाको टुप्पोले यूपीएस विमानको अगाडिको भागमा ठक्कर दिएको थियो। स्थानीय समयअनुसार राति करिब ९ः१५ बजे भएको घटनाको पुष्टि विमानस्थलका सञ्चार निर्देशक ग्रेग चिनले गरेका छन्।

एफएएका अनुसार एयर ट्राफिक कन्ट्रोलरले यूपीएस विमानका चालक दललाई कोपा एयरलाइन्सको विमानलाई बाटो छाड्न निर्देशन दिएका थिए। तर, एटीसीको अडियो रेकर्डिङमा यूपीएसका पाइलटले आफ्नो विमान केही अगाडि बढेको र त्यसक्रममा कोपाको विमानसँग ठोक्किएको स्वीकार गरेको सुनिन्छ। घटनापछि कोपा विमानका पाइलटले आफ्नो विमानको बायाँ पखेटाको टुप्पोमा क्षति पुगेको जानकारी गराएका थिए। सार्वजनिक तस्बिरमा भने यूपीएस विमानको अगाडिको भाग कुच्चिएर प्वाल परेको देखिएको छ।

पनामा सिटीबाट मियामी अवतरण गरी पार्किङस्थलतर्फ जाँदै गरेको कोपा एयरलाइन्सको विमानमा १६६ यात्रु र चालक दलका ६ सदस्य सवार थिए। दुर्घटनापछि विमानलाई सुरक्षित रूपमा टर्मिनलसम्म ल्याइएको थियो। त्यसपछि सबै यात्रुलाई सकुशल बाहिर निकालिएको विमानस्थल प्रशासनले जनाएको छ।

त्यस्तै, कोलम्बियाको बोगोटाका लागि उडान भर्ने तयारीमा रहेको यूपीएस विमानका चालक दलका सदस्य पनि सुरक्षित रहेको कम्पनीले पुष्टि गरेको छ। दुर्घटनामा सामान्य घाइते भएका दुई जनालाई घटनास्थलमै अग्नि नियन्त्रक तथा उद्धार टोलीले प्राथमिक उपचार गरेको थियो।

यसअघि शुक्रबार एफएएको प्राविधिक समस्याका कारण अमेरिकाभरका उडान सेवा प्रभावित हुँदा हजारौँ यात्रु विमानस्थलमै अलपत्र परेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*