चीनको १९ सिटे विद्युतीय विमानको पहिलो मानवसहितको परीक्षण उडान सफल

२९ कार्तिक २०८३, आईतवार १४:४३

काठमाडौं । चीनले मानवसहितको विद्युतीय विमान विकासमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ । चीनमा निर्मित १९ सिट क्षमताको विद्युतीय विमान ‘सीई–२५ए’ ले पहिलोपटक पाइलटसहितको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।

चिनियाँ विमान निर्माता कम्पनी कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोम्याक) ले विकास गरेको उक्त विमानको परीक्षण उडान शनिबार (नोभेम्बर १४) पूर्वी चीनको शानडोङ प्रान्तस्थित बिन्झाउमा गरिएको थियो । परीक्षणका क्रममा विमानमा दुई पाइलट र एक परीक्षण इन्जिनियर सवार थिए । कम्पनीका अनुसार करिब १७ मिनेटको उडानमा विमानले ६० किलोमिटरभन्दा बढी दूरी पार गरेको थियो । उडानका क्रममा विमानको अवस्था सामान्य रहेको र यसका प्रमुख प्रणालीले अपेक्षाअनुसार काम गरेको कम्पनीले जनाएको छ ।

सीई–२५ए विशेषगरी छोटो दूरीमा एक सहरबाट अर्को सहरसम्म यात्रु ओसारपसार गर्ने उद्देश्यले निर्माण गरिएको हो । अधिकतम १९ यात्रु बोक्न सक्ने यस विमानको उडान तौल १० टन रहेको छ । कम्पनीका अनुसार विमानको सामान्य उडान गति प्रतिघण्टा ३०० किलोमिटर र अधिकतम उडान उचाइ २ हजार ४०० मिटर छ । एकपटक ब्याट्री चार्ज गर्दा यसले ४०० किलोमिटरसम्म उडान गर्न सक्ने दाबी गरिएको छ ।

मानवसहितको परीक्षणअघि कम्पनीले यस विमानका १९ वटा मानवविहीन परीक्षण उडान गरिसकेको थियो । पछिल्लो सफल परीक्षणले विद्युतीय प्रविधिमा आधारित हवाई यातायातको विकासमा चीनको प्रयासलाई थप अघि बढाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*