एक वर्षमै ७ हजार १४० जनाले गरे आत्महत्या, नेपालमा दैनिक २० जनाले त्याग्छन् प्राण

२९ कार्तिक २०८३, आईतवार १५:५८

काठमाडौं । नेपालमा पछिल्लो समय आत्महत्या गर्नेहरुको संख्या भयावह बन्दै गइरहेको छ । पारिवारिक वेमेल, आर्थिक कारण, उपचार गर्न नसक्ने अवस्था इत्यादी कारण दैनिक औसतमा १९.५६ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाएको छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा देशभर ७ हजार १४० जनाले आत्महत्या गरेका छन् । २०८२ साउन १ गतेदेखि २०८३ असार ३२ गतेसम्मको तथ्याङ्कमा यस्तो भयावह अवस्था देखिएको हो । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा देशभर ६ हजार ८६६ जनाले आत्महत्या गरेका थिए । तथ्याङ्क अनुसार गत आवमा अघिल्लो आवको तुलनामा आत्महत्या गर्नेको संख्यामा ३.९९ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा आत्महत्या गर्नेको संख्यामा २७४ जना धेरै रहेका छन् ।

गत आवमा काठमाडौं उपत्यकामा मात्रै ५२२ जनाले आत्महत्या गरेका छन् । जसमध्ये पुरुष ३२१ जना, महिला १८५ जना, बालक ५ जना र बालिका ११ जना रहेका छन् । बाँकी छ हजार ६१८ जना उपत्यका बाहिरका नागरिकहरुले आत्महत्या गरेका हुन् । मनोसामाजिक विज्ञहरुले सामाजिक सञ्जाल, सम्पन्नता, किशोरावस्थामा हुने माया प्रेम तथा आर्थिक अनि गरिबीका कारण आत्महत्या तीव्र बढ्दै गएको बताएका छन् ।

मनोसामाजिक परामर्शदाता अधिवक्ता राधिका चम्लागाईले भनिन, ‘मानिसले आत्महत्या त्यतिकै गर्दैन । यसभित्रको मुख्य कारण मानसिक कारण नै हो । सूरुमा तनाव, डिप्रेसन हुँदै आत्महत्या गर्ने अवस्थामा पुग्छन् । जीवन तनावपूर्ण भइरह्यो भने पनि मानिस पछि खुशी हुनै नसक्ने अवस्थामा पुग्छ । तनावयुक्त जीवन जिउने प्रवृत्ति बढ्दै गएकोले भयावह अवस्था सिर्जना भएको हो ।’

आत्महत्यामा उत्प्रेरित गर्ने तत्वहरुमा सामाजिक यातना, पीडा हुँदै पश्चातापमा पुगेर योजनाबद्ध तरिकाले आत्महत्या गर्ने गरेको विज्ञ चम्लागाईले बताईन् । ‘यो सबै कुराको दोषी मै हूँ, मैले किन यस्तो गरे ? भन्दै पश्चाताप र निराशाको चरणमा पुगेपछि मानिसले आत्महत्या गर्छ । अडियो सुनेजस्तो, भिडियो देखेजस्तो र कसैले आएर ‘मर’ भनेको जस्तो अनुभूति गर्छ र आत्महत्या गर्नेगर्दछन्’ अधिवक्ता चम्लागाईले आत्महत्या गर्ने प्रवृत्तिबारे व्याख्या गर्दै भनिन् ।

सोसल मिडियाका कारण पनि आत्महत्या गर्ने प्रवृत्ति बढेको उनी बताउछिन् । ‘देखाउने प्रवृत्तिले गर्दा पनि यस्तो हुन्छ । किशोर अवस्थामा केटाकेटीहरुको झगडा, फोटो खिच्ने प्रवृत्ति, नचिनेका मानिसहरुसँग लभ पर्ने, शारिरीक सम्पर्क गर्ने, गर्भवति हुने समस्या आएका छन् । एकले अर्कोलाई धोका दिने प्रवृत्ति बढ्दै गएको छ । यो पनि एउटा कारण हो ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*