कार्कीको मुद्दा फास्ट ट्र्याकमा अघि बढाउने सर्वोच्चको निर्णय, ७ दिनभित्रै पेसी चढाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा फास्ट ट्र्याकबाट अघि बढाउने निर्णय गरेको छ । न्यायाधीशद्वय श्रीकान्त पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासले कार्कीको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरे पनि मुद्दाको पूर्ण सुनुवाइ छिटो टुंग्याउने निर्णय गरेको हो ।
सरकारले कात्तिक १८ गते दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) को जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो । त्यससँगै एआईजी डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो ।
आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै कार्कीले उक्त निर्णय बदर गरी पुनः आईजीपीमा बहालीको मागसहित कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि मुद्दालाई शीघ्र टुंगोमा पुर्याउनुपर्ने निष्कर्ष निकालेको हो ।
सर्वोच्च अदालतले आदेशमा भनेको छ, ‘प्रस्तुत रिट निवेदन राज्यको शान्ति सुरक्षा र प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणालीसँग सम्बन्धित भई रिट निवेदनमा उठाइएका विषयवस्तुको महत्त्व, गम्भीरता र संवेदनशीलतातर्फ दृष्टि गर्दा छिटो सुनुवाइ र निर्णय हुन वाञ्छनीय देखिएबाट प्रत्यर्थीहरूबाट लिखित जवाफ परेपछि वा पर्ने अवधि व्यतीत भएपछि ७ (सात) दिनभित्रै पेसी चढाई पेसी हटाउन नपाउने पूर्वसूचना दुवै पक्षलाई दिई नियमानुसार पेस गर्नू ।’
यसअघि यस्ता प्रकृतिका मुद्दा सर्वोच्च अदालतमा वर्षौंसम्म लम्बिने गरेका थिए । तर, कार्कीको रिटमा सर्वोच्चले सुरुमै शीघ्र सुनुवाइको आदेश दिएपछि मुद्दाले छिट्टै किनारा पाउने अपेक्षा गरिएको छ । अदालतको आदेशअनुसार लिखित जवाफ प्राप्त भएपछि वा त्यसका लागि तोकिएको अवधि सकिएपछि सात दिनभित्रै पेसी चढाउनुपर्नेछ । साथै, पेसी हटाउन नपाउने गरी दुवै पक्षलाई पूर्वसूचना दिन पनि अदालतले आदेश दिएको छ ।
सर्वोच्चको यो आदेशसँगै अब कार्कीको पुनर्बहालीसम्बन्धी विवाद लामो समयसम्म अल्झिने सम्भावना कम देखिएको छ । मुद्दाको सुनुवाइ र फैसलाको प्रक्रिया यही गतिमा अघि बढे आगामी दुईदेखि तीन साताभित्रै अन्तिम निर्णय आउन सक्ने देखिन्छ । सम्भवतः मंसिर महिनाभित्रै कार्कीको रिटले अन्तिम टुंगो पाउन सक्नेछ ।











