नाडेप लघुवित्तद्वारा कर्जा व्यवस्थापनसम्बन्धी तालिम तथा समीक्षा गोष्ठी

काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले झापाको बिर्तामोडमा कर्जा व्यवस्थापनसम्बन्धी तालिम तथा समीक्षा गोष्ठी सम्पन्न गरेको छ। संस्थाले मंसिर ९ गते बिर्तामोड इलाकाअन्तर्गतका सम्पूर्ण शाखा प्रमुखहरूको सहभागितामा ‘डेलिन्क्वेन्सी म्यानेजमेन्ट ट्रेनिङ एन्ड रिभ्यु वर्कसप’ आयोजना गरेको हो।
धादिङको धुनिवेशी नगरपालिका–६, धार्केमा केन्द्रीय कार्यालय रहेको संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी शाखा प्रमुखहरूले २०८३ कात्तिक मसान्तसम्मको लक्ष्य तथा प्रगति विवरण प्रस्तुत गरेका थिए। कार्यक्रममा भाखा नाघेको कर्जा व्यवस्थापन तथा नियन्त्रण, शाखा प्रमुखहरूको भूमिका र जिम्मेवारी, प्रभावकारी ग्राहक सम्बन्ध, कर्जा विश्लेषण, आम्दानी तथा खर्च विश्लेषण, किस्ता निर्धारण र उपयुक्त परियोजना छनोटलगायतका विषयमा प्रशिक्षण दिइएको थियो।
त्यसैगरी, सन नेपाल लाइफ इन्स्योरेन्समार्फत ग्राहक सदस्यहरूलाई उपलब्ध गराइने बीमा सुविधा, निष्क्रिय कर्जा तथा शाखाहरूले भोगिरहेका समस्या र चुनौतीका विषयमा समेत छलफल गरिएको संस्थाले जनाएको छ।
कार्यक्रममा संस्थाका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद आचार्य, ऋण लगानी तथा ग्राहक संरक्षण विभागका प्रमुख मनीषकुमार चालिसे, योजना, नीति तथा तालिम विभागका प्रमुख गोवर्धन आचार्य र बिर्तामोड इलाका प्रमुख प्रदीपकुमारले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।
संस्थाका अनुसार हाल ५६ जिल्लामा ८८ शाखामार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ। आर्थिक वर्ष २०८३/८४ को कात्तिक मसान्तसम्म संस्थाले करिब ७६ हजार २७९ घरपरिवारमा आफ्नो सेवा विस्तार गरेको छ। सो अवधिसम्म संस्थाको लगानीमा रहेको कर्जा ६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ भने ग्राहक सदस्यहरूको बचत परिचालन २ अर्ब ४४ करोड रुपैयाँ रहेको छ।
कार्यक्रममा ऋण लगानी तथा ग्राहक संरक्षण विभागका प्रमुख चालिसेले सहभागीहरूलाई स्वागत गरेका थिए भने योजना, नीति तथा तालिम विभागका प्रमुख आचार्यले तालिमको उद्देश्यबारे जानकारी गराएका थिए। तालिमको समापनका क्रममा भद्रपुर शाखा प्रमुख कृष्णप्रसाद दाहाल र धुलाबारी शाखा प्रमुख रामनरेश महतोले कार्यक्रमको मूल्यांकन प्रस्तुत गरेका थिए।
कार्यक्रमको समापन संस्थाका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद आचार्यले गरेका थिए भने सञ्चालन बिर्तामोड इलाका प्रमुख प्रदीपकुमारले गरेका थिए।











