प्रभु महालक्ष्मी लाइफले व्यतित बीमालेख नवीकरणमा १०० प्रतिशतसम्म छुट दिने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित भएका बीमालेख पुनर्जागरण गरी नवीकरण गर्ने बीमितलाई विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले २०८३ मंसिर १० गतेदेखि मंसिर २९ गतेसम्म लागू हुने गरी यस्तो छुट योजना सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार बीमा प्रारम्भ मितिदेखि दुई वर्षभित्र व्यतित भएका बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गरिनेछ। त्यस्तै, दुई वर्षदेखि तीन वर्षसम्म व्यतित भएका बीमालेखमा ७५ प्रतिशत र तीन वर्षभन्दा बढी अवधिदेखि व्यतित भएका बीमालेखमा ५० प्रतिशत छुट दिइनेछ। तर, उक्त सुविधा समुन्नति जीवन बीमा योजना र लोकप्रिय धनफिर्ता बीमा योजनाअन्तर्गतका बीमालेखमा लागू हुने छैन।
कम्पनीले यस योजनाअन्तर्गत पुनर्जागरण गरिएका बीमालेख दुई वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरिएको विलम्ब शुल्क छुटको सम्पूर्ण रकम कट्टा गरिने जनाएको छ। यसअघि नै विलम्ब शुल्क छुट सुविधा प्राप्त गरिसकेका बीमालेखलाई भने योजनामा समावेश गरिने छैन। साथै, यस योजनामा सहभागी भई छुट प्राप्त गर्ने बीमितले बीमालेखको बाँकी अवधिभर पुनः ब्याज छुट सुविधा पाउने छैनन्।
बीमालेख पुनर्जागरण गर्न कम्पनीले तोकेको आवश्यक अन्डरराइटिङ प्रक्रिया अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ।












