सिटिजन्स बैंकको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं । सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज सोमबार कार्यालय समयभरी ऋणपत्रमा आवेदन दिन सकिनेछ ।
बैंकले आईतबार सबै ऋणपत्र बिक्री नभएपछि समय थप गरेको थियो । यद्यपि सोही दिन मागभन्दा बढी आवेदन परेपछि आजदेखि बिक्री बन्द गरिने बैंकले जनाएको छ ।
बैंकले असोज १७ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो । जसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने जनाएको छ ।
बाँकी रहेको १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरिनेछ । यसबाट ५ प्रतिशले हुन आउने ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बैंकले १० वर्ष अवधिको ‘१० % सिटिजन्स डिबेन्चर २०९०’ जारी गरेको हो । जसमा बैंकले बार्षिक रुपमा १० प्रतिशत ब्याजदर दिने जनाएको छ ।
बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ भने यसमा न्यूनतम २५ ईकाईदेखि अधिकतममा बिक्री खुला गरिएको सबै इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयरमार्फत अनलाईनबाट आवेदन दिन सक्नेछन् ।












