मौद्रिक नीतिको समीक्षापछि धमाधम ब्याजदर घटाउँदै बैंक

२६ मंसिर २०८०, मंगलवार ११:४२

काठमाडौं । नेपाल राष्ट बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट नीतिगत दरहरू घटाएपछि बैंकहरूले पनि निक्षेपको ब्याजदर घटाउन सुरु गरेका छन् ।

सामान्यतया बैंकहरूले मासिक रूपमा ब्याजदर परिवर्तन गर्ने भएतापनि नीतिगत दरहरू घटाएपछि बैंकहरुले महीनाको बीचमै नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका हुन्।

राष्ट्र बैंकको निर्देशनमा बैंकदर तथा नीतिगत दर परिवर्तन भएमा तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन गर्न सकिने व्यवस्थाअनुसार बैकहरूले धमाधम सूचना प्रकाशित गर्दै ब्याजदर घटाउन थालेका छन्।

सामान्य अवस्थामा भने बैंकहरूले प्रत्येक महीनाको लागि निक्षेपमा लागू हुने ब्याजदर महीना शुरू हुनुअगावै प्रकाशित गर्नुपर्ने प्रावधान रहेको छ। यसअनुसार बैकहरूले हरेक मसान्तमा सूचना प्रकाशित गर्दै अर्काे महीनामा लागू हुने ब्याजदरको सूचना दिदै आएका छन्।

शुक्रवार मौद्रिक नीतिको समीक्षाबाट राष्ट्र बैंकले बैंकदरलाई घटाएर ७.५ प्रतिशतबाट ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट ३ प्रतिशत कायम गरेको थियो ।

तत्पश्चात् बैंकहरुले पनि सूचना प्रकाशित गर्दै धमाधम ब्याजदर घटाउन थालेका हुन् । हालसम्म एनआईसी एशिया, कुमारी बैंक, एनएमबि बैंक र माछापुच्छ्रे बैंकले सूचना प्रकाशित गरी ब्याजदर घटाइसकेका छन् ।

एनआईसी एशिया बैंकले साधारण बचत खातामा न्यूनतम ४.४५५ प्रतिशत ब्याजदर दिने भएको हो। बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशतदेखि ८.६७० प्रतिशतसम्म र संस्थागततर्फ न्यूनतम ५.५०० प्रतिशतदेखि ६.६७० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो। बैंकले नयाँ ब्याजदर पुस १ गतेदेखि लागु हुने जनाएको छ।

कुमारी बैंकले आइतबार देखि नै लागू हुने गरी ब्याजदर घटाएको छ। बैंकले मुद्दती निक्षेपमा अधिकतम ९.६१ प्रतिशत ब्याजदर तोकेको हो। एनएमबी बैंकले पनि सोमबारदेखि लागु हुने गरि ब्याजदर सार्वजनिक गर्दै मुद्दति निक्षेपमा अधिकत ९.५० प्रतिशतबाट घटाएर ९ प्रतिशत कायम गरेको हो।

माछापुच्छ्रे बैंकले पनि मंगलबारदेखि लागु हुने गरी ब्याजदर घटाएको छ। बैंकले सामान्य बचतमा ४।६० प्रतिशतदेखि ७।६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ९.६० तथा संस्थागततर्फ ७.६० प्रतिशत अधिकतम ब्याजदर निर्धारण गरेको हो।

पछिल्लो समय बैंकहरुमा निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नहुँदा तरलता थुप्रिएपछि राष्ट्र बैंकले नीतिगत ब्याजदर घटाएको हो। तत्पश्चात् बैंकहरुले पनि धमाधम ब्याजदर घटाउन सुरु गरेका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*