नेपाल बैंकको पूर्वशाखा प्रबन्धक कोइराला बैंक सिस्टम ह्याक गरी आफ्नै खातामा रकम सारेको आरोपमा दोषी ठहर

नेपाल बैंकको डिल्लीबजार पूर्वशाखा प्रबन्धक भूपराज कोइराला बैंकको रकम हिनामिना गरेको आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतको खुसी प्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले कोइरालालाई दोषी ठहर गरेको हो ।
२०७६ सालमा बैंकलाई नभएको दायित्व सिर्जना गरी अनुचित लाभ लिएको आरोपमा कोइरालालाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको थियो । कोइरालामाथि बैंक सिस्टम ह्याक गरी बैंकमा जम्मा गर्नुपर्ने ब्याज आफ्नो निजी खातामा जम्मा गरेको आरोप थियो ।
गत मङ्सिर २६ गते कोइरालामाथिको कसुर कायम भएकोमा उनलाई ५४ लाख ८४ हजार जरिवाना तथा त्यति नै बिगो नेपाल बैंक लिमिटेडले असुल उपर गरेर लिने आदेश भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ असार २१ गते विशेष अदालतमा कोइरालाविरुद्ध मुद्दा दायर गरेको थियो । उनले टेलर आइडी र सिस्टम सुपर युजरको दुरुपयोग गरेर अनधिकृत रूपमा आफ्नो खातामा रकम जम्मा गरेको अभियोग आयोगको थियो ।











