भरोसाको नाममा धोका: एनआईएमबि क्यापिटलको एसआईपी योजनाले लगानीकर्तालाई बनायो सास्तीको पात्र

दिपक विष्ट
२३ असार २०८२, सोमबार १३:०८

काठमाडौँ । साना लगानीकर्तालाई लक्षित गर्दै सञ्चालन गरिएको एनआईएमबि क्यापिटल लिमिटेडको सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) योजनामा हाल व्यापक असन्तुष्टि र गुनासो उत्पन्न भएको छ । प्रारम्भमा राम्रो प्रतिफल दिने, लगानीकर्तालाई लामो समयको लागि नियमित बचत र लगानीको अभ्यास गराउने लक्ष्यसहित सुरु गरिएको योजना अहिले उल्टै ग्राहकलाई दुःख दिने र रकममै खेलवाड गर्ने माध्यम बनिरहेको हो ।

‘सस्तोमा राम्रै प्रतिफल’ भन्ने प्रचारसहित प्रस्तुत गरिएको एसआईपी योजनामा लगानी गरेका धेरै ग्राहकले आफ्नो रकम समयमा शेयर इकाइमा रूपान्तरण नभएको, खातामा अद्यावधिक नदेखिएको र लामो समयसम्म ‘पेन्डिङ’मा राखिएको गुनासो गरेका छन् । एनआईएमबि क्यापिटलको व्यवस्थापनले ग्राहकलाई सेवाग्राही नभई बोज ठानेझैं व्यवहार गरिरहेको तीव्र आलोचना बढ्दो छ ।

सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) भन्नाले खुलामुखी म्युचुअल फन्ड योजनाभित्र समावेश गरिएको एउटा सुविधा हो, जसअन्तर्गत लगानीकर्ताले मासिक वा समय अनुसार निश्चित रकम नियमित रुपमा जम्मा गर्न सक्छन् । नेपालको सन्दर्भमा यो योजना खुलामुखी सामूहिक लगानी योजना (ओपन एण्ड फन्ड) सञ्चालन गर्ने मर्चेण्ट बैंकहरुले सञ्चालन गरिरहेका छन् । यस्ता योजनाहरुले खासगरी साना लगानीकर्तालाई बैंक जस्तै नियमित बचत गर्ने अभ्यास गराउने र दीर्घकालीन रुपमा शेयर बजारमा जोड्ने प्रयास गर्छन् ।

तर, एनआईएमबि क्यापिटलको ‘एनआईबीएल सहभागिता फन्ड’ अन्तर्गत सञ्चालन गरिएको एसआईपी योजनामा हाल देखिएको अव्यवस्था, लापरवाही र प्राविधिक कमजोरीले यसको मूल उद्देश्यमै प्रश्न उठेको छ । एसआईपी मार्फत साना रकम मासिक आधारमा लगानी गर्दै आएका ग्राहकहरुले कम्पनीको असंवेदनशीलता र सुस्त सेवाका कारण मानसिक तनाव भोग्न बाध्य भएका छन्।

एक सेवाग्राही ज्योति थापा भन्छिन्, ‘भविष्यमा राम्रो प्रतिफल दिने भनेर मलाई मिडियामा काम गर्ने साथीले भनेपछि मैले महिनाको एक हजार ५०० रुपैयाँ जम्मा गर्ने गरेको छु । सुरुवातका २–३ महिना त ठिकै भइरहेको थियो, तर पछि भने समयमा नै मेरो शेयरमा नदेखिने अनि पेन्डिङमा राख्ने काम भइरहेको छ । अब त यसमा शंका पो लाग्न थालेको छ ।’

यो गुनासो कुनै एक वा दुई ग्राहकको मात्र होइन । एनआईएमबि क्यापिटलको एसआईपी योजनामा लगानी गर्ने सयौं ग्राहकको अवस्था यस्तै छ । अर्को सेवाग्राही अनिल बोहरा भन्छन्, ‘विद्यार्थी मान्छे कहिले कता हुन्छ कता हुन्छ। बैंकबाट काट्ने सिस्टम बनाएको तर कहिले समयमा पैसा काटेको छैन। पैसा काट्न भनेर प्रत्येक चोटी फोन गर्नुपर्छ।’

एसआईपी योजनामा स्वचालित रुपमा बैंकबाट मासिक कटौती हुने प्रणाली छ । तर, एनआईएमबि क्यापिटलको प्रणालीमा यो अत्यन्तै अव्यवस्थित देखिन्छ । अनलाइन प्रणालीमार्फत सहज लगानी र जानकारी पाउने अपेक्षा गरेका सेवाग्राही अहिले लगातार फोन र इमेलको भरमा जवाफ खोज्दै हिँडिरहेका छन् ।

सेवाग्राही पवित्रा दाहालले भोगेको अनुभव अझ पीडादायी छ । उनी भन्छिन्, ‘कहिले सिस्टम अपडेट भन्यो, कहिले १-२ दिन पछि कल गर्नुस् भन्या छ, अहिले फोन गर्दा उठ्दैन, कहिले बिजी भन्छ । आज त दिनभरि म १५ पटक फोन गरे होला, बिजी मात्र भन्यो। आफ्नो डिटेल्स हेर्न पनि नपाइने भएको छ, कुनै रेकर्ड नै छैन। आइडी समेत कहिलेकाहीं लगइन हुँदैन।’

यस्ता गुनासो सामाजिक सञ्जालदेखि विभिन्न अनलाइन फोरम र चर्चा समूहमा बाक्लिँदै गएका छन् । यसबाट कम्पनीको सिस्टममा प्रविधिगत मात्र होइन सेवा प्रवाहमा रहेको गम्भीर कमजोरी पनि उजागर भएको छ ।

यसबारे एनआईएमबि क्यापिटलले आफ्ना कमजोरीलाई स्वीकार गरे पनि समाधानका लागि कुनै ठोस योजना सार्वजनिक गरेको छैन । क्यापिटलका एक कर्मचारीका अनुसार, ‘धेरै ग्राहकको रकम पेन्डिङमा छ । डाटाहरु मिलाउनु पर्ने काम भइरहेको हुँदा यस्तो समस्या आइरहेको हो।’ उनले थपे, ‘पेन्डिङमा देखाए पनि इकाई खरिद गरिसकेका हुन्छौं। केही कारणले बिक्री गर्ने मात्रै समस्या देखा परेको हो। डाटा मिलाउने काम जारी छ। यति समय भन्न सकिन्न, तर छिट्टै समाधान गर्छौं।’

तर सेवाग्राहीको गुनासो अनुसार ५–६ महिनासम्म रकम पेन्डिङमै राखिएको छ । डाटा मिलाउन महिनौं लाग्नु, ग्राहकले आफ्नो लगानी ट्र्याक गर्न नपाउनु, समयमै इकाई नदेखिनु, फोन नउठनु, इमेलमा जवाफ नआउनुजस्ता समस्याले एनआईएमबि क्यापिटलको व्यवस्थापन अत्यन्तै कमजोर रहेको प्रष्ट भइरहेको छ ।

यो अवस्था कम्पनीले जिम्मेवाररुपमा सेवा प्रवाह गरिरहेको छैन भन्ने प्रमाण हो । अझ व्यवस्थापनले ‘सिस्टम अपडेट’ भनेर दोहोरिरहँदा कुनै निश्चित मिति दिन नसक्नु वा समाधानको ठोस खाका प्रस्तुत गर्न नसक्नु गम्भीर लापरवाही हो । साना लगानीकर्ताको रकम बैंकको खाताबाट कटौती भइसकेपछि पनि ग्राहकको खातामा विवरण अद्यावधिक नहुनु, रिपोर्ट हेर्न नमिल्नु र सेवामा निरन्तर समस्या आउनु सिधा रूपमा लगानीकर्ताको भरोसा तोड्ने विषय हो । यो वित्तीय बजारको आधारभूत पारदर्शिता र उत्तरदायित्वप्रतिको उल्लंघन हो ।

सुरुवातमा ‘सस्तोमा शेयर किन्ने, मासिक बचत गर्ने र भविष्यमा उच्च प्रतिफल पाउने’ सपना देखाइएका ग्राहक अहिले प्रतिफलमा पनि निराश भएका छन् । सेवाग्राहीहरुका अनुसार कम्पनीले पछिल्लो समय बैंकको साधारण बचत खातामा पाइने ब्याजभन्दा पनि कम बोनस इकाई वितरण गर्न थालेको छ ।

एनआईएमबि क्यापिटलले सञ्चालन गरेको एसआईपि सबैभन्दा पुरानो हो । तर व्यवस्थापनको यो ढिलासुस्ती र गैरजिम्मेवार व्यवहारले यसको ब्रान्ड र साखमा गम्भीर असर पारिरहेको छ । ग्राहकको विश्वास नै म्युचुअल फन्ड बजारको मेरुदण्ड हो । तर, हाल एनआईएमबि क्यापिटलले त्यही विश्वासमा ठेस पु¥याउँदै आफ्नो दायित्वविहीन व्यवहार देखाइरहेको छ ।

ग्राहक क्यापिटलले दिएको समस्याको भारी बोकि रहेको भएपनि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) भने गहिरो निद्रामा रहेको छ । ग्राहकको समस्या पहिचान र समाधान गराउन क्यापिटललाई दबाब दिनु पर्ने सेबोन आफै बेखबर भइरहेको छ । नियामक निकायले यस्तो लापरवाही गर्ने वित्तीय संस्थामाथि निगरानी, चेतावनी र आवश्यक परे कारबाहीको प्रक्रिया अगाडि बढाउनु पर्ने हो तर, बोर्डले भने बेवास्था गर्दै आइरहेको छ ।

लगानीकर्ताले आफ्नो रकम सुरक्षित, पारदर्शी र समयमै सेवा पाउने आशमा यस्तो योजनामा सहभागी हुने हो । तर अहिलेको एनआईएमबि क्यापिटलको व्यवहारले त्यो भरोसा तोडिदै गएको छ ।

11 thoughts on “भरोसाको नाममा धोका: एनआईएमबि क्यापिटलको एसआईपी योजनाले लगानीकर्तालाई बनायो सास्तीको पात्र

  1. Debendra Prasad upadhyay says:

    यसको सुधार गर्नुपर्यो नत्र घर न घाटको

  2. Debendra Bahadur Budha says:

    मेरो पनि ३ महिनादेखिको unit देखाएको छैन यसमा माथि भनेजस्तै फोन गर्दा नलाग्ने नउठने झर्केर बोल्ने गर्दा अहिले संस्था माथि संका गर्ने ठाउँ पक्कै पनि रहन्छ।

  3. Rajendra says:

    हो मैले पनि यो अनुभव गरेको छु । सेवा प्रति सन्तुष्ठ छैन ।

  4. बिनोद says:

    हो मेरो पनि गुनासो हो ।

  5. शमिम अंसारी says:

    बिलकुल सहि समाचार । मेरो पनि खातामा ईकाइ किनेको तर चार महिना देखि Pending मै देखाईरहेको छ ।

  6. दबिन्द्र says:

    कुन मा sip गर्दा राम्रो होला त

  7. प्रतिमा कुमारी शाह says:

    यो समस्या मैले सधैं भोग्दै आइरहेको छु।तर यो कम्पनी लाई कुनै मतलब छैन जस्तो देखिन्छ ।

  8. Ram Kumar Badhai says:

    मैले अफ्नो साथी को 2 वटा किस्ता तिरेको 5/7 महिना बितिसक्दा पनि अहिले सम्मा Demat ko portfolio मा देखाएको छैन

  9. Jamuna Khadka says:

    Mero Pani 4 month vayo 3 month ko ekae dekhayo xaena Ra Mero share ma aayako ni xaena tehi vayara yo month ko payment garekini xaena phone garyo vane system update hudaexa vanxa
    Khae kahile ho system update hune…

  10. Mahendra Thapa says:

    yeslai xodera arko bank bata sip start garna milx ki nai????

  11. सोम बहादुर तामाङ says:

    मेराे पनि तेस्तै छ, मेरि श्रीमतीको पनि तेस्तै छ।३/४ महिना भैसक्यो । फोन गर्दा उठाउदैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*