राष्ट्र बैंकले २ अर्ब ९२ करोड मुद्दती निक्षेपमा लगानी गर्न प्रस्ताव खुला

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग मुद्दती निक्षेपका रूपमा २ अर्ब ९२ करोड रुपैयाँ लगानी गर्न प्रस्ताव खुला गरेको छ । राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागमार्फत जारी सूचनाअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले प्रतिस्पर्धात्मक प्रस्तावमार्फत तोकिएको रकमका लागि दाबी गर्न सक्नेछन् । यो लगानी साउन ११ गतेसम्मको कोषमा आधारित रहनेछ भने कुल रकममध्ये २ अर्ब ३४ करोड ‘क’ वर्गका वाणिज्य बैंकका लागि, ४३ करोड ६७ लाख ‘ख’ वर्गका विकास बैंकका लागि र १४ करोड ६२ लाख ‘ग’ वर्गका वित्त कम्पनीका लागि छुट्याइएको छ ।
राष्ट्र बैंकले लगानी प्रस्तावमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूका लागि निश्चित सर्तहरू तोकेको छ । प्रस्ताव पेश गर्न इच्छुक संस्थाहरूले न्यूनतम पूँजीको अनुपात कायम गर्नुपर्ने, निष्क्रिय कर्जा (NPL) ८ प्रतिशतभन्दा बढी हुनु नहुने र खुद निष्क्रिय कर्जा ३ प्रतिशतभन्दा बढी नहुनुपर्ने शर्त लागू गरिएको छ । साथै, बैंक तथा वित्तीय संस्थाको तरल सम्पत्ति अनुपात र कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र हुनुपर्ने छ ।
साथै, प्रस्ताव पेश गर्न चाहने बैंक तथा वित्तीय संस्था शिघ्र सुधारात्मक कारवाहीमा परेका भए त्यसको फुकुवा भएको कम्तीमा ६ महिना पूरा भइसकेको हुनुपर्नेछ । समस्याग्रस्त संस्थाको हकमा पनि फुकुवा भएको ६ महिना बितिसकेको हुनुपर्ने, साथै सर्वसाधारणलाई शेयर निष्कासन गरिसकेको हुनुपर्ने शर्त पनि राखिएको छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ (ख) बमोजिमको प्रावधान अनुसार सो प्रक्रिया अघि बढाएको जनाएको छ ।
यस प्रस्तावका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको ढाँचामा आवश्यक विवरण भरेर इमेलमार्फत पठाउनुपर्नेछ ।












