फोर्ड ब्रान्डमा गुणस्तर समस्याः अन्तर्राष्ट्रिय बजारबाट २० लाख गाडी रिकल, नेपालमा पनि गुमाउँदै विश्वसनीयता

काठमाडौँ । नेपाली अटो बजारमा समेत निरन्तर दुर्घटनामा परि रहेको फोर्ड ब्रान्डका गाडीको अन्तर्राष्ट्रिय बजार समेत कमजोर देखिएको छ । विश्वकै पुरानो र चर्चित अटोमोबाइल निर्माता फोर्ड मोटर कम्पनी पछिल्ला वर्षहरूमा गुणस्तरगत समस्याका कारण गम्भीर संकटमा परेको हो ।
सन् २०२५ मा मात्र कम्पनीले १०४ पटक गाडीहरू फिर्ता बोलाउन (रिकल) बाध्य भएको छ । जसमा करिब २० लाख गाडी प्रभावित भएका छन् । विद्युत प्रणाली बिग्रनु, ब्रेक काम नगर्नु, सफ्टवेयरको त्रुटि, क्यामेराको समस्या, ढोका बन्द नहुनेजस्ता कारणले बारम्बार गाडी फिर्ता बोलाउनुपरेपछि फोर्डको ब्रान्ड विश्वसनीयता खस्किंदै गएको हो । कम्पनी गाडी फिर्ता बोलाउने खर्चमै करिब ५ अर्ब अमेरिकी डलर बराबरको भार पर्ने अनुमान गरिएको छ ।
यसै क्रममा फोर्डले लोकप्रिय गाडी एफ–१५० लाइटनिङ्गको ब्याट्रीसम्बन्धी समस्या समाधान गर्न मात्रै करिब १ अर्ब डलर छुट्याउनुपरेको छ । साथै, अमेरिकी सडक सुरक्षा नियामक निकायले कम्पनीलाई १६५ मिलियन डलर बराबरको जरिवाना तोकेको छ । यो वित्तीय भारको असर शेयर बजारमा देखिएको छ । फोर्डको शेयर मूल्य उद्योग औसत भन्दा निकै तल छ । सन् २०२५ को अगस्टसम्म आउँदा फोर्डको शेयरले ठूलो गिरावट देखाएको छ । वर्षभरको आधारमा हेर्दा फोर्डले प्रमुख अमेरिकी शेयर सूचकाङ्क भन्दा १५ प्रतिशत कम प्रदर्शन गरेको छ भने अटोमोबाइल क्षेत्रको औसत भन्दा पनि १० प्रतिशतले कमजोर नतिजा देखाएको छ ।
ग्राहक स्तरमा पनि ब्रान्डप्रतिको विश्वास कमजोर भएको छ । ग्राहक सन्तुष्टिको सूचकाङ्क (नेट प्रमोटर स्कोर) फोर्डको ३२ मात्र रहेको छ, जुन उद्योग औसत ४१ भन्दा निकै तल हो । यसले उपभोक्ताले फोर्डलाई विश्वसनीय ब्रान्डको रूपमा लिन छोड्दै गएको स्पष्ट संकेत गरेको छ ।
फोर्डको रिकल (सुरक्षा कारणले कार फिर्ता बोलाउने) खर्च तीव्र रूपमा बढिरहेको छ । फोर्डले अघिल्लो वर्ष वारन्टी अन्तर्गत ६ अर्ब डलर बराबरको खर्च व्यहोरेको थियो । यो वर्ष पनि ५ अर्ब डलर खर्च हुने प्रक्षेपण छ । कम्पनीको कुल ऋण १३८ अर्ब डलर पुगेको छ जुन उद्योगको सामान्य मापदण्डभन्दा निकै माथि हो ।
फोर्डले विद्युतीय सवारीसाधन (ईभी) क्षेत्रमा ठूलो लगानी गरेको भए पनि सफलताभन्दा बढी घाटा भोगिरहेको छ । फोर्डको विद्युतीय मोडल ई डिभिजनले बिक्रीमा १८४ प्रतिशत वृद्धि देखाएको छ र करिब २.४ अर्ब डलर राजस्व कमाएको छ । तर यसले ५ देखि ५.४ अर्ब डलरसम्म घाटा देखाउने प्रक्षेपण छ ।
प्रमुख मोडल एफ–१५० लाइटनिङ्गमा ब्रेक फ्लुड चुहावट र मस्टाङ्ग म्याक ई मा ढोका लयाच बिग्रने समस्या देखिएपछि ग्राहकको विश्वास झनै घटेको छ ।
फोर्डका प्रमुख कार्यकारी जिम फर्लीले समस्यालाई स्वीकार गर्दै सुधार गर्ने घोषणा गरेका छन् । उनले कृत्रिम बुद्धिमत्ता प्रयोग गरेर दोष पहिचान गर्ने, थप सुरक्षा टोली बनाउने र उत्पादन प्रक्रियामा टोयोटाले प्रयोग गर्ने (लिन) अभ्यास लागू गर्ने बताएका छन् । तर विज्ञहरूका अनुसार यी सबै सुधारले १८ देखि २४ महिनापछि मात्र ठोस नतिजा दिन सक्छ । त्यसअघि फोर्डको फिर्ता बोलाउने दर अझै उच्च नै रहने सम्भावना छ ।
फोर्ड मोटर कम्पनी एक समय अमेरिकी इञ्जिनियरिङ्ग र विश्वासको प्रतीक थियो । तर अहिले गुणस्तरमा कमजोरी, बारम्बारको फिर्ता बोलाउने समस्या, सफ्टवेयरमा ढिलाइ र विद्युतीय क्षेत्रमा प्रतिस्पर्धामा पछि पर्नुले गर्दा यसको बजारको जग हल्लिँदै गएको छ ।
नेपाली अटो बजारमा पनि समस्याको चाङ
नेपाली अटो बजारमा समेत फोर्ड कम्पनीका गाडीमा अनेकौं समस्याको चाङ देखिन थालेको छ । दुर्घटनाका घटनाहरूले बजारमा कम्पनीका गाडी बिक्रीमा सकस भइरहेको हो । तर, रिकल सम्बन्धी नेपालमा भने यस्ता कुनै पहल भएको देखिदैन ।
फोर्ड गाडीको नेपालको आधिकारीक बिक्रेता जी.ओ. अटोमोबाइल्स प्राइभेट लिमिटेडको व्यापार खस्किएको छ । सन् २०२० मा २ अर्ब ६७ करोड ६० लाख रुपैयाँको व्यापार गरेको जिओले सन् २०२४ मा ८३ करोड ७० लाख रुपैयाँमा झरेको छ । सन् २०२३ मा ८२ करोड ९० लाख, सन् २०२२ मा १ अर्ब ६५ करोड २० लाख र सन् २०२१ मा ३ अर्ब ४४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । जसले कम्पनीको आय निरन्तर ओरालो लागि रहेको देखिएको छ ।
केहि समयअघि काठमाडौँको धोबिखोलामा एउटा फोर्ड गाडी दुर्घटनाग्रस्त भएको थियो । उक्त घटनामा सवारी चालकले गाडीको निर्माणमा केही समस्या र गाडीको कामकाजी अवस्थामा कमी भएको कुरा जनाएका थिए । साथै, मातातिर्थको उकालोमा गाडी ब्याक हटेर दुर्घटनाग्रस्त भएको थियो, जसमा एक डाक्टर परिवार शोकमा परेको थियो । यसले गाडीको सुरक्षितता र गुणस्तरमा सुधारको आवश्यकता थप महसुस गराएको छ ।
फोर्ड ब्रान्डका गाडी बिक्री हुनै सकस, व्यापार घट्दा आकाश गोल्छाको कम्पनी धरापमा
विभिन्न समस्या देखि रहँदा समेत बिक्रेता भने उत्पादकसँग रिकल तिर जान सकेको छैन । जसले गर्दा नेपाली ग्राहकको विश्वास गुमाउँदै गएको हो छ । जी.ओ. अटोमोबाइल्सलाई गोल्छा परिवारका तीन जना प्रवद्र्धकहरूले स्थापना गरेका हुन् । जसमा ७१ प्रतिशत स्वामित्व आकाश गोल्छाको रहेको छ । उनी कम्पनीका प्रबन्ध निर्देशक समेत हुन् । नेपालमा कम्पनीका पाँच क्षेत्रीय डिलर शोरूमहरू र दुईवटा आफ्नै शोरूम/बिक्रि केन्द्रहरू रहेका छन् ।
समाचार अन्तर्राष्ट्रिय मिडियाहरुको सहयोगमा













