डोटेली जनताको विश्वास खोस्ने बलायरको चुनावी नाटक, दिन थाले निर्वाचन लक्षित खोक्रो भाषण

दिपक विष्ट
९ पुष २०८२, बुधबार १९:०६

काठमाडौँ । राजनीतिमा इमान्दारिता, प्रतिबद्धता र जनताको पक्षमा उभिने साहसलाई नै नेतृत्वको मूल मापदण्ड मानिन्छ । जनताले विश्वास गरेर दिएको मतको कदर गर्नु, संकटका बेला मौन नबस्नु र आफ्नो भूमिकाबाट पछि नहट्नु नै राजनीतिक नैतिकताको आधार हो । तर नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरको राजनीतिक यात्राले यी सबै मापदण्डमाथि पटक–पटक प्रश्न खडा गरेको छ । विशेषतः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी तोक्ने निर्णयदेखि हालसम्म आइपुग्दा बलायरको भूमिका, अभिव्यक्ति र व्यवहार डोटेली जनताको स्मृतिमा अझै ताजा छ । यही स्मृतिले आज पनि डोटीको राजनीतिक, सामाजिक र भावनात्मक धरातलमा बलायरको नामलाई विवादको केन्द्रमा राखिरहेको छ ।

२०७४ सालमा मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै प्रदेशहरूको अस्थायी राजधानी तोक्ने विषयले व्यापक बहस र आन्दोलन जन्मायो । सुदूरपश्चिम प्रदेश (तत्कालीन प्रदेश नम्बर ७) को हकमा पनि यही अवस्था देखियो । सरकारले  प्रदेशको अस्थायी राजधानी धनगढी तोक्ने निर्णय गर्‍यो । सो समयमा डोटीबाट निर्वाचित सांसद वीरबहादुर बलायर भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारीमा थिए । डोटीका लागि त्यो क्षण ऐतिहासिक अवसर थियो । जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद मात्र होइन मन्त्री परिषद्‌मै रहेको प्रभावशाली नेता भएकाले राजधानीको विषयमा समन्वयकारी र निर्णायक भूमिका खेल्ने अपेक्षा डोटेली जनताले गरेका थिए । तर त्यो अपेक्षा अपेक्षामै सीमित रह्यो ।

अस्थायी राजधानी धनगढी तोकिएपछि डोटीमा व्यापक विरोध सुरु भयो । गाउँ–गाउँबाट वृद्ध, युवा, महिला र बालबालिकासम्म सडकमा उत्रिए । हप्तौँसम्म जिल्ला ठप्प रह्यो । आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भयो । राजधानी माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयमाथि लाठीचार्ज भयो । कयौँ घाइते भए । त्यो समय डोटीका लागि पीडादायी मात्र होइन ऐतिहासिक रूपमा निर्णायक मोड पनि थियो । तर यही बेला डोटेली जनताले भोट दिएर मन्त्री बनाएका वीरबहादुर बलायर भने मन्त्री पदको सुविधामा रमाइरहेको आरोप व्यापक रूपमा लाग्यो । उनले न त सार्वजनिक रूपमा डोटीलाई अस्थायी राजधानी बनाइनुपर्ने माग सशक्त ढंगले उठाए, न त आफ्नै सरकारभित्र समन्वयको प्रयास गरेको देखियो । जनतामाथि लाठी बज्दा समेत उनको मौनताले डोटेली जनताको मनमा गहिरो चोट पुर्‍यायो ।

त्यस बेला डोटीलाई राजधानी बनाउन स्थानीयस्तरबाट मात्र होइन विभिन्न राजनीतिक दलका नेताहरूले पनि आवाज उठाएका थिए । नेकपा एमालेका नेता चक्र मल्ल र नेपाली कांग्रेसकै नेता नरेन्द्र सिहले खुलेर डोटी राजधानी हुनुपर्ने पक्षमा उभिएका थिए । तर मन्त्री पदमा रहेका बलायरको भूमिका भने न त आन्दोलनकारीको पक्षमा देखियो, न त डोटीको पक्षमा निर्णायक आवाज बनेर उभिएको देखियो । यही कारण डोटेली जनतामा ‘आफ्नै प्रतिनिधिले साथ दिएन’ भन्ने गुनासो बलियो हुँदै गयो ।

यसको राजनीतिक परिणाम २०७४ कै निर्वाचनमा देखियो । नेपाली कांग्रेसबाट पुनः टिकट पाएर मैदानमा उत्रिएका बलायरको प्रतिस्पर्धा नेकपा एमालेका प्रेम आले मगरसँग भयो । राजधानीको मुद्दा, मन्त्री भएर पनि जिल्लाको पक्षमा नउभिएको आरोप र आन्दोलनका बेला देखिएको मौनता सबै कुरा मतपेटिकामा प्रतिबिम्बित भयो । डोटेली जनताले बलायरलाई करिब १ हजार ६३२ मत अन्तरले पराजित गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्री जस्तो प्रभावशाली पदमा रहेका कांग्रेस नेता बलायरको हार केवल व्यक्तिगत पराजय मात्र थिएन त्यो डोटेली जनताको आक्रोशको अभिव्यक्ति पनि थियो ।

तर राजनीतिक यात्रामा पराजयपछि आत्मसमीक्षा गर्नुको सट्टा बलायरको बाटो फरक दिशातर्फ मोडिएको देखिन्छ । २०७९ सालको निर्वाचनमा उनले आफ्नो जन्मथलो र कर्मथलो डोटी छाडेर कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिए । सो समयमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन थियो । डोटीमा एकीकृत समाजवादीका प्रेम आलेले टिकट पाए भने बलायर कैलाली पठाइए । यसरी अगाडि एउटै व्यक्तिसँग हारिसकेका बलायर गठबन्धनको सहारामा कैलाली पुगेर निर्वाचन लडे । उनले नेकपा एमालेका लेखराज भट्टलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य बने ।

तर कैलालीबाट निर्वाचित भएपछि बलायरको अभिव्यक्ति झनै विवादित बन्दै गयो । उनले पटक–पटक डोटी प्रदेश राजधानी कुनै हालतमा हुन नसक्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिए । राजधानीको माग गर्दै आन्दोलन गरेका डोटेली जनताको भावनालाई यी अभिव्यक्तिले थप चोट पुर्‍यायो । ‘डोटी राजधानी हुन सक्दैन’ भन्ने अभिव्यक्ति दिने नेता आज फेरि डोटी फर्किएर भोट माग्ने तयारीमा जुट्दा त्यसको नैतिक आधारबारे प्रश्न उठ्नु स्वाभाविक देखिन्छ ।

हालको राजनीतिक परिदृश्य फेरि परिवर्तन भएको छ । जेनजी आन्दोलनको प्रभावका कारण आगामी फागुन २१ गते निर्वाचन हुने भएको छ । यही सन्दर्भमा बलायर पुनः डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् । यससँगै उनी डोटी केन्द्रित गतिविधिमा सक्रिय देखिन थालेका छन् । चुनाव लक्षित भाषण, कार्यक्रम र भेटघाटमा उनको सक्रियता बढेको छ । डोटेली जनतासँग टाढिएको सम्बन्ध पुनः जोड्ने प्रयासमा उनी देखिएका छन् ।

मंगलबार डोटीको केआईसिंह गाउँपालिका–वायलमा आयोजित नवनिर्मित बी.पी. स्मृति भवनको उद्घाटन कार्यक्रममा बलायरले दिएको भाषणले फेरि चर्चा पाएको छ । केही समयअघि डोटी राजधानी हुन नसक्ने अभिव्यक्ति दिने बलायरले यही कार्यक्रममा भने डोटी र डोटेली जनता आफ्नो स्मृतिबाट कहिल्यै नहट्ने बताएका छन् । आफू डोटीमा जन्मिएको, डोटीका लागि समर्पित रहेको र भविष्यमा पनि डोटीको उन्नति–प्रगतिका लागि ज्यान दिन तयार रहेको अभिव्यक्तिले उनको भाषण भावनात्मक देखिए पनि त्यसको पृष्ठभूमि भने विवादित छ । उनले आफ्नो विगत सम्झँदै आफूले ठूलो योगदान दिएको दाबी गरे । भाषणको लय र शब्द चयन हेर्दा आगामी निर्वाचनमा डोटीबाटै उम्मेदवारी दिने संकेत स्पष्ट देखिएको छ ।

तर यही भाषणलाई लिएर डोटीमा मिश्रित प्रतिक्रिया देखिएको छ । कतिपयले यसलाई चुनावी लोभ–लालचका रूपमा व्याख्या गरेका छन् । राजधानीको सवालमा निर्णायक बेला मौन बस्ने, आन्दोलनका बेला जनताको पक्षमा नउभिने र पछि गएर डोटी राजधानी हुन नसक्ने अभिव्यक्ति दिने नेताको भावनात्मक भाषणले जनताको विश्वास फिर्ता आउँछ कि आउँदैन भन्ने प्रश्न अझै अनुत्तरित छ ।

डोटीले प्रदेश राजधानी नपाएपछि त्यसको प्रत्यक्ष असर जिल्लाको जनसांख्यिक, आर्थिक र प्रशासनिक संरचनामा परेको छ । राजधानी धनगढी केन्द्रित भएपछि सरकारी कार्यालयहरू नाम मात्रका भवनमा सीमित भएका छन् । अधिकांश कामकाज धनगढीमै केन्द्रित छ । व्यवसायिक गतिविधि सुस्त छ । व्यापार–व्यवसाय चलायमान हुन सकेको छैन । रोजगारी र सेवासुविधाको खोजीमा डोटीबाट तराई झर्नेहरूको संख्या बढ्दो छ ।

यही पृष्ठभूमिमा बलायरको पुनः डोटी केन्द्रित राजनीति र भावनात्मक भाषणलाई धेरैले अवसरवादको संज्ञा दिएका छन् । जनताले नेताको भाषण मात्र होइन व्यवहार र निर्णयलाई पनि स्मरण गर्छन् । डोटेली जनताका लागि राजधानीको मुद्दा केवल प्रशासनिक विषय मात्र नभई पहिचान, सम्मान र भविष्यसँग जोडिएको प्रश्न हो ।

राजनीतिमा पुनरागमन सम्भव हुन्छ, गल्ती सच्याउने अवसर पनि हुन्छ । तर त्यसका लागि इमान्दार स्वीकारोक्ति र व्यवहारिक प्रतिबद्धता आवश्यक हुन्छ । डोटीले राजधानी गुमाउँदा मौन बसेको इतिहास पछि डोटीविरुद्ध दिएको अभिव्यक्ति र आज फेरि डोटीमै भोट माग्न फर्किएको यात्रा बीचको विरोधाभासले वीरबहादुर बलायरको राजनीतिक विश्वसनीयतामाथि गहिरो प्रश्न उठाइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*