तीन पटक डोटेलीको जनादेश पाएका आले निस्किए अवसरवादी, प्रदेश राजधानीको मुद्दा छोडेर भागे कैलाली!

काठमाडौँ । डोटेली जनताले तीन–तीन पटक प्रतिनिधि सभामा पठाएका नेता प्रेम आले मगर आसन्न प्रतिनिधि सभा निर्वाचनमा भने कैलालीबाट उम्मेदवारी दिने निश्चित भएपछि डोटीको राजनीतिमा व्यापक चर्चा सुरु भएको छ । पटक–पटक डोटीको जनादेश पाएका आले यसपटक डोटी छाडेर कैलाली–५ रोज्नुले उनको राजनीतिक प्रतिबद्धता, क्षेत्रीय निष्ठा र विगतका प्रतिवद्धतामाथि गम्भीर प्रश्न खडा गरेको हो ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आले कैलाली–५ बाट उम्मेदवार बन्ने पक्का भइसकेको छ । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट चुनावी प्रतिस्पर्धामा उत्रने भएका हुन् । तर, यो निर्णयसँगै डोटीमा भने उनीप्रति असन्तुष्टि र आलोचना चुलिँदै गएको देखिन्छ । तीन पटकसम्म जिताएर संसद पठाएका जनताको क्षेत्र छाडेर अर्को सुरक्षित वा सहज देखिएको निर्वाचन क्षेत्र रोज्नु राजनीतिक अवसरवादको उदाहरण भएको टिप्पणी स्थानीय तहदेखि केन्द्रीय राजनीतिसम्म सुनिन थालेको छ ।
२०७० सालको संविधानसभा निर्वाचनमा उनी डोटी क्षेत्र नम्बर २ बाट नेकपा एमालेको उम्मेदवार बनेर निर्वाचित भएका थिए । सो निर्वाचनमा उनले १२ हजार ४०० मत ल्याउँदै नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र बहादुर शाहीलाई पराजित गरेका थिए । त्यसबेला शाहीले १० हजार ९१४ मत प्राप्त गरेका थिए । यो जितसँगै आले डोटीको राजनीतिक नेतृत्वमा स्थापित भएका थिए ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि आलेले डोटीमै एमालेबाट उम्मेदवारी दिए । सो निर्वाचन अझै प्रतिस्पर्धात्मक थियो । त्यतिबेला उनी बहालवाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता वीरबहादुर बलायरसँग चुनावी मैदानमा उत्रिएका थिए । आलेले ३२ हजार ५१० मत ल्याउँदै बलायरलाई १ हजार ६३२ मतान्तरले पराजित गरे । यो जितलाई डोटीको राजनीतिमा ठूलो उलटफेरको रूपमा हेरिएको थियो ।
२०७९ सालको निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवारका रूपमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका आलेले नेकपा एमालेकी उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराउँदै तेस्रो पटक पनि डोटीबाटै संसद प्रवेश गरे । सो निर्वाचनमा उनले २७ हजार २१० मत प्राप्त गरेका थिए । लगातार तीन पटक डोटेली जनताले विश्वास गरेर जिताएका नेता अहिले भने त्यही जनताको मुद्दा र भावनाबाट टाढिँदै कैलाली पुगेको आरोप खेपिरहेका छन् ।
डोटेली जनताले तीन पटक निर्वाचित गराएका आले अहिले डोटीका मुद्दाबाट विमुख भएको गुनासो व्यापक रूपमा उठिरहेको छ । विशेषगरी २०७४ र २०७९ को निर्वाचनमा डोटी प्रदेश राजधानी बन्ने आशा र अपेक्षालाई लिएर जनताले उनलाई ठूलो मत दिएको स्थानीयको बुझाइ छ । प्रदेश राजधानी डोटीमै बनाउने विषयलाई मुख्य एजेन्डाका रूपमा अघि सार्दै चुनावी मैदानमा होमिएका आलेले निर्वाचित भइसकेपछि भने सो मागलाई संस्थागत रूपमा अघि बढाउन नसकेको आरोप छ ।
निर्वाचित भएपछि जनताको घर–दैलोमा नफर्किने, स्थानीय सरोकारवालासँग नियमित संवाद नगर्ने र विकास योजनाको अनुगमनमा चासो नदिने आरोप पनि आलेमाथि लाग्दै आएको छ । अहिलेको चुनावी समीकरणमा आफू डोटीमा कमजोर देखिएपछि उनले कैलाली रोजेको विश्लेषण राजनीतिक वृत्तमा व्यापक छ । जनताको मतलाई आधार बनाएर राजनीतिक उचाइ हासिल गरेपछि त्यही जनतालाई छाडेर अर्को क्षेत्र रोज्नु नैतिक रूपमा प्रश्नयोग्य भएको टिप्पणी हुँदै आएको छ ।
विशेषगरी डोटीको शिखर र आदर्श गाउँपालिकासँग जोडिएको सातनाली मोटरेबल पुल आलेको प्रमुख चुनावी एजेन्डामध्ये एक थियो । सो पुल निर्माण भएमा स्थानीयको आवतजावत, व्यापार र सामाजिक जीवनमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको थियो । तर, उनले पुल निर्माणका लागि ठोस पहल गर्न नसकेको आरोप छ ।
डोटेली जनताले ‘प्रदेश राजधानीको आश देखाएर आफू भने भागेको’ आरोप लगाउँदै आएका छन् । प्रदेश राजधानी कैलालीतर्फ सरेपछि डोटी लगायत पहाडी जिल्लाबाट जनसंख्या घट्दो क्रममा रहेको तथ्यांकहरूले पनि देखाउँछन् । रोजगारी, शिक्षा, स्वास्थ्य र प्रशासनिक सेवाको खोजीमा तराई झर्ने क्रम बढ्दो छ । यसले डोटीको सामाजिक र आर्थिक संरचनामै असर पारेको छ ।
डोटीमा रहेका विभिन्न प्रशासनिक कार्यालय र संरचनाहरू पनि क्रमशः कैलाली सर्दै आएको छ । यसले डोटीको मुख्य बजार क्षेत्र प्रभावित भएको छ । एक समय चहलपहल हुने बजार अहिले सुनसान बन्दै गएको, व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेको गुनासो सुनिन्छ । यस्तो अवस्थामा तीन पटकसम्म जिताएका नेताबाट अपेक्षित नेतृत्व नपाएको अनुभूति डोटेली जनतामा छ ।
सम्बन्धीत समाचार:
डोटेली जनताको विश्वास खोस्ने बलायरको चुनावी नाटक, दिन थाले निर्वाचन लक्षित खोक्रो भाषण
नेताको भोट बैंक बनेको सातनाली पुलः साउदको मनपरीले स्थानियलाई सास्ती, मल्ल र आले मुकदर्शक












