माइक्रोफाइनान्सको मुनाफामा चमकः ६ महिनामा कमाए ४ अर्ब ७९ करोड, कुनको कति ?

३ फाल्गुन २०८२, आईतवार १२:५६

काठमाडौँ । नियामक निकायको लचिलो नीतिका कारण माइक्रोफाइनान्स कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । आर्थिक मन्दी, कारोबारमा आएको सुस्तता र विभिन्न आन्दोलनको प्रभावलाई छल्दै लघुवित्त क्षेत्र क्रमशः स्थिरतर्फ उन्मुख भइरहेको हो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लघुवित्त वित्तीय संस्थाले धितोमा प्रवाह गर्न पाउने कर्जाको अधिकतम सीमा १५ लाख पु¥याएको हो । यसअघि लघुवित्तले धितोमा ७ लाख रुपैयाँसम्म मात्रै कर्जा दिन पाउने व्यवस्था थियो । जसले लघुवित्तको नाफामा थप बल पुगेको छ । राष्ट्र बैंकले उपलब्ध गराएको पुनर्संरचनाको सुविधाले दबाबमा परेका ऋणीहरूलाई राहत दिँदै किस्ता भुक्तानी सहज बनाएको छ, जसका कारण संस्थाहरूको वित्तीय प्रवाह फेरि सुदृढ बन्दै गएको छ ।

पछिल्लो समय लघुवित्तको खराब कर्जा घट्दै गएको छ । खराब कर्जामा आएको कमी लघुवित्तहरूको नाफा वृद्धिमा मुख्य आधार बन्न पुगेको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको अवधिमा माइक्रोफाइनान्स कम्पनीले ४ अर्ब ७९ करोड २ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गर्ने सफल भएका छन् । लघुवित्तहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि तुलनामा ८९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा माइक्रोफाइनान्सहरुले २ अर्ब ५३ करोड ३२ लाख रुपैयाँ नाफा कमाएका थिए ।

यसअवधिमा ४ कम्पनीको मुनाफा मात्रै ऋणात्मक रहेको छ भने ४४ कम्पनी नाफा रहेको वित्तीय विवरणले देखाएको छ । गत आर्थिक वर्षको ६ महिनामा नाफा ऋणात्मक रहेका लघुवित्तहरुले चालु आर्थिक वर्षको सोहि अवधिमा उल्लेख्य नाफा कमाउन सफल भएका छन् ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा छिमेक लघुवित्त पहिलो स्थानमा रहेको छ । यसअवधिमा कम्पनीको नाफा १२.५५ प्रतिशतले बढेर५७ करोड ६० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ५१ करोड १८ लाख रुपैयाँ रहेको थियो ।

लघुवित्तमा सर्वाधिक नाफा कमाउने दोस्रो नम्बरमा रहेको डिप्रोक्स लघुवित्तले ४४ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने ८०.३० प्रतिशतले बढी हो ।

त्यस्तै, जीवन विकास लघुवित्तको नाफा ८९ प्रतिशतले बढेर ३८ करोड ९० लाख, साना किसान लघुवित्तको २६ प्रतिशतले घटेर ३८ करोड ९ लाख, नेशनल लघुवित्तको ७० प्रतिशतले बढेर ३६ करोड ६६ लाख, ग्रामिण विकास लघुवित्तको ५७ प्रतिशतले बढेर २१ करोड ९९ लाख, फरवार्ड माइक्रोफाइनान्सको २०६० प्रतिशतले बढेर १९ करोड १२ लाख, स्वाबलम्बन लघुवित्तको ११३ प्रतिशतले बढेर १७ करोड २६ लाख र स्वरोजगार लघुवित्तको ४४.८८ प्रतिशतले बढेर १२ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

साथै, ६ महिनामा आशा लघुवित्तको ४३१ प्रतिशतले बढेर १२ करोड ५५ लाख, निर्धन उत्थान लघुवित्तको ११ प्रतिशतले घटेर ११ करोड ९७ लाख, सूर्यदय ओमी लघुवित्तको २१२ प्रतिशतले बढेर ११ करोड ७१ लाख र ग्लोबल आईएमई लघुवित्तको १० प्रतिशतले घटेर १० करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ ।

हेर्नुहोस् कुनको नाम कति ?

चार कम्पनीको नाफा भने अझै ऋणात्मक रहेको छ ।विजय लघुवित्तको १६ लाख ७३ हजार, गणपति लघुवित्तको ३५ लाख ६९ हजार, विन नेपाल लघुवित्तको ८८ लाख २९ हजार र सिर्जनशिल लघुवित्तको २ करोड ८४ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*