वीरगञ्जमा सुरक्षा अवस्था तनावग्रस्त : बिहान ९:४५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु

११ फाल्गुन २०८२, सोमबार १०:३६

काठमाडौँ ।  पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था गम्भीर बनेपछि स्थानीय प्रशासनले सोमबार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै बिहान ९:४५ बजेदेखि लागू हुने गरी महानगरका मुख्य क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशमा अर्को सूचना नभएसम्मका लागि सर्वसाधारणको आवतजावत, भेला तथा कुनै पनि प्रकारका गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको उल्लेख छ। प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कडा कदम चालिएको स्पष्ट पारेको छ।

कर्फ्यु लागू हुने क्षेत्रको चार किल्ला समेत तोकिएको छ। आदेशअनुसार पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ नेपाल–भारत सीमा नजिकैको शङ्कराचार्य गेटभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लागू गरिएको छ। उक्त सिमानाभित्र कसैले पनि आवतजावत गर्न, जुलुस निकाल्न, सभा–सम्मेलन गर्न, बैठक बस्न वा घेराउ जस्ता गतिविधि गर्न नपाउने जनाइएको छ।

यद्यपि, कर्फ्यु आदेशका बीच प्रशासनले अत्यावश्यक तथा मानवीय सेवामा भने सहजीकरण गर्ने जनाएको छ। एम्बुलेन्स, दमकल, शव वाहन र स्वास्थ्यकर्मीका सवारी साधनलाई निर्वाध रूपमा सञ्चालन गर्न दिइनेछ। साथै सञ्चारकर्मी, पूर्वनिर्धारित परीक्षामा सहभागी हुने परीक्षार्थी तथा कर्मचारी, पर्यटकका सवारी साधन र कूटनीतिक नियोगका गाडीहरूलाई पनि सुरक्षाकर्मीमार्फत आवश्यक सहजीकरण गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*