बुद्ध एयर दुर्घटनाको प्रतिवेदन: ढिलो अवतरण र कमजोर ब्रेकिङले विमान रनवेबाट बाहिरियो

काठमाडौं । झापास्थित चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको एटिआर ७२–५०० विमान रनवेबाट बाहिरिएको घटनाको प्रारम्भिक छानबिन प्रतिवेदनले ढिलो अवतरण (टचडाउन) र पर्याप्त दूरी नबाँकी रहँदा प्रभावकारी रूपमा ब्रेक प्रयोग हुन नसक्नु प्रमुख कारण रहेको औंल्याएको छ।
गत पुस १८ गते काठमाडौंबाट चन्द्रगढीका लागि उडेको बुद्ध एयरको ९एन–एएमएफ कलसाइनको विमान अवतरणका क्रममा रनवे ओभररन भई बाहिरिएको थियो। दुर्घटनाबाट विमानमा संरचनात्मक क्षति पुगे पनि मानवीय क्षति भने टरेको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घटनाको छानबिनका लागि समिट एयरमा कार्यरत वरिष्ठ क्याप्टेन विनोद पुरीको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको थियो। सो टोलीले बुझाएको प्रारम्भिक प्रतिवेदनअनुसार विमान निर्धारित बिन्दुभन्दा करिब ४२० मिटर पर अवतरण भएको देखिएको छ। अवतरणपछि करिब १ हजार ११२ मिटर क्षेत्र पार गरेपछि मात्र प्रभावकारी रूपमा ब्रेक प्रयोग गरिएको उल्लेख छ।
रनवेमा पर्याप्त दूरी बाँकी नरहँदा विमान चिप्लिँदै दायाँ र त्यसपछि बायाँतर्फ मोडिएको तथा अन्ततः रनवे छाडेर विमानस्थलको आन्तरिक बार भत्काउँदै करिब १८३ मिटर बाहिर पुगेको प्रतिवेदनमा जनाइएको छ।
उक्त उडान चालकदलका लागि दिनको पाँचौँ तथा अन्तिम उडान थियो। सह–पाइलटले विमान उडाइरहेका थिए भने क्याप्टेन अनुगमनकर्ताको भूमिकामा थिए। मौसम अवस्था सामान्य रहेको र हवाई यातायात नियन्त्रण कक्षबाट अवतरण अनुमति प्राप्त भइसकेको अवस्थामा पनि ढिलो अवतरण, सीमित रनवे दूरी तथा प्रभावकारी ब्रेकिङ नहुनु दुर्घटनाको प्रमुख कारणका रूपमा प्रारम्भिक निष्कर्षमा उल्लेख गरिएको छ।












