पाल्पा सिमेन्टको आईपीओ सर्वसाधारणलाई बिक्री खुला

१२ फाल्गुन २०८२, मंगलवार ०७:०६

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आज फागुन १२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गरेको छ। प्रथम चरणमा उद्योग प्रभावित र वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बाँडफाँड गरिसकेकाले अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७५ लाख कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। जसमध्ये १८ लाख ७५ हजार कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र ५ लाख ६२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा जारी गरी बाँडफाँड समेत गरिसकेको छ।

अब कम्पनीले बाँकी शेयरमध्ये २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषहरूका लागि र २ लाख ८१ हजार २५० कित्ता शेयर कम्पनीका कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी अन्त्यमा बाँकी रहेको ४५ लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

यस आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतममा १ लाख कित्तासम्म माग गर्न सकिनेछ। निष्काशन बन्द छिटोमा फागुन १५ गते हुनेछ भने त्यस अवधिभित्र पर्याप्त आवेदन नपरेमा मात्रै फागुन २६ गते निष्काशन बन्द हुनेछ। बाँडफाँडमा ४ लाख ५० हजार आवेदकले १०/१० कित्ताका दरले यो आईपीओ प्राप्त गर्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई “आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*