सगरमाथा जलविद्युत कम्पनीको लकइन अवधि सकिंदै

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको ७२ लाख ९३ हजार ७८४ कित्ता शेयरको लकइन अवधि आउँदो चैत १६ गतेबाट सकिंदैछ।
हाल कम्पनीको संस्थापक शेयरधनीतर्फको ५९ लाख ८३ हजार ३२० कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको ११ लाख ७३ हजार २०० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीतर्फको १ लाख ३७ हजार २६४ कित्ता शेयर लकइनमा रहेको छ।
कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले सामुहिक लगानी कोषतर्फको शेयर ६ महीनासम्म र संस्थापक, आयोजना प्रभावित र कर्मचारीतर्फको शेयर ३ वर्षसम्म कारोबार गर्न नमिल्ने गरी लकइनमा राख्नु पर्ने प्रावधान छ।
सोही प्रावधान बमोजिम कम्पनीको उक्त शेयर लकइनमा रहेका छन्। लकइन अवधि समाप्त भएसँगै चैत १७ गतेदेखि उक्त शेयर कारोबार गर्न सकिनेछ तर कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूले भने कारोबार गर्न पाउने छैनन्।












