असुली र पूँजी दबाबले थला परेको स्वस्तिक लघुवित्त, जोखिम यथावत्

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय अवस्था थप दबाबमा परेको संकेत देखिएको छ । इक्रा नेपालले संस्थाको इस्युअर रेटिङ ‘आईसीआरएएनपी–आईआर बी’ श्रेणीमै यथावत् राख्दै ‘नकारात्मक प्रभावसहितको निगरानी सूची’मा निरन्तरता दिएको हो
संस्थाको समग्र ऋण वहन क्षमता कमजोर स्तरमै रहेको मूल्यांकन गरिएको छ । ‘बी’ श्रेणी स्वयंमा उच्च जोखिम सूचक मानिन्छ । त्यसमाथि ‘नकारात्मक प्रभावसहितको निगरानी सूची’मा राखिनुले आगामी दिनमा रेटिङ अझै घट्न सक्ने सम्भावनालाई औंल्याएको छ ।
रेटिङ एजेन्सीका अनुसार यो मूल्यांकन कुनै एक ऋण साधनसँग सम्बन्धित नभई संस्थाको समग्र वित्तीय विश्वसनीयतामा आधारित हो । यसले संस्थाको पूँजी पर्याप्तता, सम्पत्ति गुणस्तर, नाफा आर्जन क्षमता तथा तरलता अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।
पछिल्लो समय लघुवित्त क्षेत्रमा असुलीमा देखिएको कमजोरी, ऋणीहरूको भुक्तानी क्षमतामा आएको गिरावट तथा सञ्चालन खर्चमा भएको वृद्धि जस्ता कारणले संस्थाहरू दबाबमा छन् । स्वस्तिक लघुवित्त पनि यसबाट अछुतो रहन नसकेको संकेत रेटिङ निर्णयले दिएको छ ।












