अमेरिकामा नेपाली परिवारमा विभत्स हत्या: श्रीमती र छोरीको हत्या गरेका छत्रबहादुर प्रहरी कारबाहीमा मारिए

१२ फाल्गुन २०८२, मंगलवार १३:२१

काठमाडौँ ।  अमेरिकाको भर्जिनियामा एक नेपाली परिवारमा विभत्स हत्या भएको छ। स्थानीय समयअनुसार फेब्रुअरी २४ सोमबार बिहान करिब ५:१५ बजे भर्जिनियाको फेयरफ्याक्स काउन्टी, मान्तुवा क्षेत्रको एक घरमा ५० वर्षीय छत्रबहादुर थापाले आफ्नी श्रीमती र छोरीको हत्या गरेका छन्।

स्थायी बसोबास प्रमाणपत्र (ग्रिनकार्ड) प्राप्त गरेर गत वर्ष नोभेम्बर १२ देखि आफ्नी छोरीको घरमा बस्दै आएका छत्रबहादुरले १० इन्च लामो धारिलो हतियार (दाउ) प्रहार गरी ५१ वर्षीया बिन्दा थापा र ३१ वर्षीया ममता थापाको हत्या गरेका हुन्। फेयरफ्याक्स काउन्टी पुलिस डिपार्टमेन्टका अनुसार, घटनास्थलमा प्रहरी पुग्दा आरोपी हातमा धारिलो हतियार बोकेको अवस्था थियो। प्रहरीको निर्देशनको अटेर गर्दा छत्रबहादुर प्रहरी कारबाहीमा मारिएका छन्।

घटनामा छत्रबहादुरले आफ्ना ज्वाइँ ३५ वर्षीय सन्तोषकुमार बस्नेतमाथि पनि हतियार प्रहार गरेका थिए। गम्भीर घाइते सन्तोष हाल उपचारमा छन्। एक वर्षीय बालक घटनाबाट बच्न सफल भएका छन्। प्रहरीका अनुसार बालकको अवस्था सुरक्षित छ र बालबालिका स्याहार केन्द्रमा राखिएको छ।

छत्रबहादुर उदयपुर, बेलका नगरपालिका, रामपुर घर भएका हुन् र मानसिक रोगसम्बन्धि समस्यामा लामो समयदेखि औषधि सेवन गर्दै आएका थिए।

घटनापछि फेयरफ्याक्स प्रहरीले आरोपीको परिवार र सम्बन्धित व्यक्तिको खोजी गरिरहेको छ। राजधानी वासिङ्टन डीसीस्थित नेपाली दूतावासले पनि चासो देखाउँदै आफन्तसँग सम्पर्क गर्न आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*