अर्धवार्षिक मौद्रिक नीति समीक्षा: कर्जा प्रवाह र लगानीमा लचकता बढाउने अपेक्षा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्न आज साँझ सञ्चालक समिति बैठक बोलाएको छ। गभर्नर विश्वनाथ पौडेलले साँझ साढे पाँच बजेका लागि बैठक आह्वान गरेको एक सञ्चालकले जानकारी दिएका छन्।
अर्धवार्षिक समीक्षामार्फत नीतिगत समायोजन हुने अपेक्षा गरिएको छ। हाल बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर न्यूनतम तहमा झरेको छ तर कर्जाको माग अपेक्षाअनुसार विस्तार हुन सकेको छैन। निजी क्षेत्रले लगानीमा सावधानी अपनाइरहेको छ भने उपभोक्ता माग पनि पूर्ण रूपमा सुधार हुन सकेको छैन।
सरोकारवालाले अर्धवार्षिक समीक्षा कर्जाको प्रवाह बढाउने, लगानीलाई उत्प्रेरित गर्ने र तरलता व्यवस्थापनमा थप लचकता ल्याउने दिशामा केन्द्रित हुने अपेक्षा गरेका छन्।
वाणिज्य तथा वित्त क्षेत्रका विश्लेषकहरूले पनि समीक्षाबाट नीतिगत समायोजनले बजारमा सन्तुलन कायम राख्ने र आर्थिक गतिविधिमा गति थप्ने सम्भावना रहेको बताएका छन्।












