निर्वाचनमा शान्ति सुरक्षा मजबुत बनाउन मानव अधिकार आयोगको निर्देशन

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय मानव अधिकार आयोगले देशको सुरक्षा अवस्था र निर्वाचन आचारसंहिता उल्लंघनका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै निर्वाचनपूर्वको अनुगमन देशभर तीव्र पारिएको जानकारी दिएका छन्।
पछिल्लो समय दाङ, रौतहट र पर्सा लगायतका जिल्लामा राजनीतिक दलका कार्यकर्ता र विभिन्न समूहबीच भएका विवादका कारण निषेधाज्ञा जारी गर्नुपर्ने स्थिति आएको आयोगको भनाइ छ। आयोगले राजनीतिक दलका नेता तथा उम्मेदवारहरूले एकअर्काप्रति लक्षित गर्ने अमर्यादित र घृणायुक्त अभिव्यक्तिले निर्वाचनको वातावरण बिगार्न सक्ने चेतावनी दिएको छ। यस्ता अभिव्यक्तिले सामाजिक र सांस्कृतिक सद्भावमा पनि असर पुर्याउने भन्दै सबै पक्षलाई धैर्यता र संयमता अपनाउन आग्रह गरिएको छ।
निर्वाचन प्रचारप्रसार र राजनीतिक गतिविधिमा बालबालिकाको प्रत्यक्ष वा परोक्ष प्रयोग भएको पाइएको भन्दै आयोगले यसलाई तत्काल रोक्न निर्देशन दिएको छ। सामाजिक सञ्जालमा बालबालिकालाई संलग्न गराउनु आचारसंहिताको गम्भीर उल्लंघन भएको विज्ञप्तिमा उल्लेख छ।
निर्वाचन शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री बनाउन राजनीतिक दल, नागरिक समाज, विद्यालय र अभिभावकको जिम्मेवारी उत्तिकै हुने आयोगले स्पष्ट पारेको छ। सरकार र सबै सम्बद्ध पक्षलाई शान्ति सुरक्षामा असर पार्ने गतिविधि बन्द गर्न र नागरिकको मानव अधिकारको सम्मान गर्न आयोगले आग्रह गरेको छ।












