चुनावको मुखमै शेयर बजारमा हरियालीः कारोबार भने खुम्चियो, कस्तो होला आगामी यात्रा ?

१२ फाल्गुन २०८२, मंगलवार १५:०४

काठमाडौँ । नेपाली शेयर बजारमा आज दोहोरो अंकको सुधार देखिएको छ । सोमबार मात्र झिनो सुधार देखिएको बजार आज भने उल्लेखनीय रूपमा बढेको हो । पछिल्ला केही दिन यता निरन्तर खुम्चिएको बजारले आज सकारात्मक संकेत देखाए पनि कारोबार रकम भने बढ्न सकेको छैन । लगानीकर्ताहरू अझै ‘पर्ख र हेर’ रणनीतिमा रहेका छन् ।

फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक अस्थिरता र नीति स्पष्टताको अभावले लगानीकर्तामा सतर्कता बढाएको छ। हालको राजनीतिक अवस्था हेर्दा कुनै दलले स्पष्ट बहुमत पाउने सम्भावना कम देखिनु र निर्वाचनपछि सरकारको नीतिगत दिशाको अनिश्चितताले बजारमा उचालचढाव ल्याइरहेको छ ।

त्यसैबीच, साना नाफा बुकिङले शेयर मूल्यमा थप दबाव सिर्जना गरिरहेको छ। बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाउने संकेत गरेका छन् भने नियामक निकायले पुँजी बजारप्रति सकारात्मक र उदार नीति लागू गर्ने प्रयास गरिरहेका छन्। यी पहलहरूले भविष्यमा बजारमा स्थायित्व र सुधार ल्याउने सम्भावना देखिएको छ।

तर, अहिलेसम्म यी पहलहरूको अपेक्षित प्रभाव बजारमा स्पष्ट देखिएको छैन। लगानीकर्ताहरू आगामी नीति स्पष्टता र चुनाव परिणामको प्रतिक्षामा रहेका छन्, जसले छोटो अवधिमा बजारको उतारचढाव कायम राख्ने देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.६२ अकंले बढेर २६३८.६० बिन्दुमा कायम भएको छ । आज३२८ कम्पनीको ९३ लाख ६४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २३ करोढ २४ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन १३ वटै उपसूचकमा हरियाली देखिएको छ । मंगलबार वाणिज्य बैंक समूहको ०.३० प्रतिशत, विकास बैंक समूहको १.११ प्रतिशत, फाइनान्स समूहको ०.६४ प्रतिशत, होटल तथा पर्यटन समूहको २.०२ प्रतिशतले बढेको हो ।

आज २१३ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*