अर्थतन्त्रमा सुधारको संकेतः पर्यटन र रेमिट्यान्स बलियो, महंगी नियन्त्रणमै

१३ फाल्गुन २०८२, बुधबार ०९:४७

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले देशको आन्तरिक आर्थिक तथा वित्तीय अवस्था समग्रमा सुधारोन्मुख रहेको देखाएको छ। केही क्षेत्रमा चुनौती देखिए पनि अधिकांश सूचक सकारात्मक दिशातर्फ उन्मुख रहेको केन्द्रीय बैंकले उल्लेख गरेको छ।

यस वर्ष मौसम पूर्ण रूपमा अनुकूल नहुँदा धान उत्पादन ४.२ प्रतिशतले घट्ने अनुमान गरिएको छ तर अन्य बालीको उत्पादन बढेकाले समग्र कृषि क्षेत्र सकारात्मक रहने अनुमान गरिएको छ। ऊर्जा क्षेत्रतर्फ हेर्दा चालु वर्षको दोस्रो त्रैमाससम्म थप ३८९ मेगावाट जलविद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। नागढुङ्गा–नौबिसे सुरुङ मार्ग यसै वर्ष सञ्चालनमा ल्याउने तयारी भइरहेको छ भने प्रमुख राजमार्ग निर्माण कार्यले पनि गति लिएको छ।

सेवा क्षेत्र पनि क्रमशः सुधारको बाटोमा देखिएको छ। सन् २०२५ मा ११ लाख ५८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् जसले पर्यटन आय बढाउनुका साथै होटल, यातायात र अन्य सेवामूलक व्यवसायलाई चलायमान बनाएको छ।

त्यस्तै विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ यसले घरपरिवारको खर्च गर्ने क्षमता बढाउनुका साथै लगानीयोग्य आम्दानीमा वृद्धि गरेको छ। रेमिट्यान्स वृद्धिले आन्तरिक पर्यटन र बजार मागलाई पनि सहयोग पुर्‍याएको छ। आयात र निर्यात दुवै व्यापारमा देखिएको वृद्धिले आर्थिक गतिविधि विस्तार भएको संकेत गर्छ।

महंगीको सन्दर्भमा विश्व बजारमा कच्चा तेल र खाद्यान्नको मूल्य घट्नु तथा छिमेकी देशहरूमा पनि मूल्यवृद्धि कम रहनुले नेपालमा सकारात्मक प्रभाव पारेको छ। यस वर्षको औसत महंगी ५ प्रतिशतको लक्ष्यभन्दा कम रहने अनुमान गरिएको छ। यद्यपि अन्तर्राष्ट्रिय तनाव र व्यापारिक करमा हुने उतारचढावले भविष्यमा मूल्यमा दबाब सिर्जना गर्न सक्ने जोखिम कायम रहेको उल्लेख गरिएको छ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या बढ्दै गएको छ। रेमिट्यान्स आप्रवाह निरन्तर वृद्धि र आयात नियन्त्रणमै रहेमा विदेशी मुद्राको सञ्चिति वर्षभरि नै बलियो रहने देखिएको छ।

हाल वित्तीय प्रणालीमा कम ब्याजदरमा पर्याप्त तरलता उपलब्ध छ। यसले उत्पादन, उत्पादकत्व र रोजगारी विस्तारका लागि अवसर सिर्जना गरेको छ। महंगी र बाह्य क्षेत्रको अवस्था सन्तोषजनक रहेकाले केन्द्रीय बैंकले मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिएको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*